ओलीले राती २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेको खुलासा !

काठमाडौं । प्रनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली राजनीतिका दुई प्रभावशाली व्यक्तित्वले एकअर्काविरुद्ध खरो टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकअर्कालाई लक्षित गरी यस्तो टिप्पणी गरेका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौती दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेन्डाका आधारित भएर बहसका लागि आफू तयार रहेको बताएका छन् ।

ओली पश्चिमा देशहरूमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकाका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

यसैगरी प्रधानमन्त्री देउवाले पनि पूर्वप्रधानमन्त्री ओलीले जनताले चुनेको संसद्लाई मनपरी ढंगले भंग गरेको बताएका छन् । ललितपुरमा सत्तारूढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राष्ट्रपतिलाई राती २ बजे उठाएरसमेत ओलीले संसद् भंग गरेको टिप्पणी गरे ।

‘राती २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो । बिहान गरेको भए पनि हुन्थ्यो, राती ६÷७ बजेतिर गरेको भए पनि हुन्थ्यो’, देउवाले भने, ‘त्यस्तो किसिमको लहडमा भंग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद् बचाउन आवश्यक थियो ।’

संविधान बनाउँदा नै कुनै हालतमा संसद् विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने बताए । ‘तर, उहाँले चुनाव हुने समयभन्दा दुई वर्षअघि नै संसद् भंग गरिदिनुभयो,’ देउवाले भने ।

प्रकाशित : बुधबार, कार्तिक ०२, २०७९०७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काट्ने बेला भएको धानबालीमा गैँडा पस्यो, मच्चायो वितण्डा !