एमाले–पूर्वएमाले बीच १९ ठाउँमा कडा प्रतिष्पर्धा !

काठमाडौं । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा हुँदै छ । उम्मेदवारी दर्तापश्चात् राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो, सभा, बैठक, भेलालगायतका कार्यक्रममा व्यस्त छन् ।

प्रतिनिधिसभाको १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचनका लागि ५ हजार बढी उम्मेदवार चुनावी दौडमा रहेका छन् । तीमध्ये ४ सय ९५ जना चयन हुनेछन् । निर्वाचन मुख्यतः दुई गठबन्धनसहित स्वतन्त्र उम्मेदवारबीच देशैभरि प्रतिस्पर्धा छ ।

को को छन् त मैदानमा ?

वाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् । अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा), राप्रपा, राप्रपा नेपालसहितका दलहरूको तालमेल रहेको छ ।

यी दुई गठबन्धनधारी र तालमेलधारीसहित स्वतन्त्र तथा कुनै पनि गठबन्धनमा नरहेका दलका उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीका उम्मेदवारको एमालेसँगै प्रतिस्पर्धा छ । वामलोकतान्त्रिक गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रतिनिधिसभाको १ सय ६५ सिटमा पाएको २० सिटमध्ये १९ ठाउँमा एमालेसँगै प्रतिस्पर्धा रहेको छ ।

हालको एमाले र पूर्वएमाले नेताबीच प्रतिस्पर्धाले निर्वाचन रोचक बनेको छ । सिराहा–४ मा एकीकृत समाजवादीका उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज धर्मनाथप्रसाद साहबाहेक एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट–१ बाट उम्मेदवार छन् ।

रौतहट–१ मा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्तालाई उम्मेदवार बनाएको छ । गुप्ता लोसपा छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गुप्ता एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहसँग मेयरमा पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौटहटमा राम्रै परिणाम ल्याएको र सत्तारूढ गठबन्धनको समर्थन रहेकाले नेपाल आफू विजय हुनेमा ढुक्क छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । इलाम १ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन् । यसअघिका निर्वाचनमा खनालका लागि मत माग्दै आएका बस्नेत योपटक भने आफैं प्रतिस्पर्धी भएका छन् ।

यही क्षेत्रबाट खनालले निरन्तर निर्वाचन जित्दै आएका छन् । उनले २०४८, २०५१, २०६४, २०७० र २०७४ मा जितेका थिए । महेश भने एमालेको नयाँ अनुहार हुन् । खनाल एकीकृत समाजवादीमा लागेपछि यसपटक बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा अवसर पाएका हुन् । यसैगरी बाग्मती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे धादिङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

उनीसँग व्यक्तिगत रूपमा समेत निकट मानिने भूमिप्रसाद त्रिपाठीलाई एमालेले प्रतिस्पर्धी बनाएको छ । त्रिपाठी २०७४ मा एमालेबाट निर्वाचित सांसद हुन् । उनी हाल एमाले धादिङका अध्यक्षसमेत हुन् । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा र एमालेका अम्बरबहादुर रायमाझीबीच उदयपुर–२ मा प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमालेका सचिव गोकर्ण विष्ट एमालेका पुराना सहकर्मी हुन् । यो निर्वाचनमा यी दुई नेताले गुल्मी–२ बाट एकअर्काबीच प्रतिस्पर्धा गर्दै छन् । २०७४ मा झाँक्री समानुपातिकतर्फ सांसद भएकी थिइन् भने विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित : बुधबार, कार्तिक ०२, २०७९०६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओलीले राती २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेको खुलासा !