पहिला दोस्रो विवाह गर्न पटक्कै मन थिएन हरिवंशलाई, तर अहिले छन् धेरै खुशी !

काठमाडौं । जेठी पत्नीको निधनपछि अग्रज हास्यव्यंग्य कलाकार हरिवंश आचार्यलाई दोस्रो विवाह गर्न पटक्कै मन थिएन । तर, छोराहरूले नै दोस्रो विवाहका लागि प्रेरणा दिए । मन भारी बनाएर उनले त्यतिबेला दोस्रो विवाह गरेका रहेछन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

सुरुमा त्यो निर्णय उनलाई गलत लाग्यो । तर, अहिले त्योबेला आफूले लिएको निर्णय ‘सही’ रहेछ भन्ने उनलाई महसुस भएको छ । ‘एक्लाभन्दा विवाहित लामो समयसम्म बाँच्छन् भन्ने अध्ययनले देखाएको छ, मैले पनि अहिले आएर दोस्रो विवाह गरेर ठीक गरेछु भन्ने महसुस गरेको छु,’ मंगलबार राजधानीसँग कुराकानी गर्ने क्रममा हरिवंशले भने, ‘मैले दोस्रो विवाह गर्दा रमिला र मेरो एकल जीवनको अन्त्य हुनुका साथै एकअर्कालाई दम्पत्तिका रूपमा पायौं ।

फेरि श्रीमती पाउँदा मलाई एकल महसुस हुन छाड्यो र मेरा छोराहरूले पनि आमाको माया फेरि पाए ।’ अभिनेता हरिवंशको भनाइमा प्रदर्शनी तयारीमा रहेको ‘महापुरुष’मा पनि पत्नी गुमाएका ज्येष्ठ नागरिकले ६० वर्ष पुग्दै गर्दा दोस्रो विवाह गरेको कथा छ । यो कथा आफ्नो जीवनमा ‘केही मेल खाने’ उनले सुनाए । ‘फिल्ममा करबलले विवाह गरे पनि वास्तविक जीवनमा आफन्तको चाहनाले विवाह गरेको हुँ । वास्तविक जीवनदेखि फिल्मी कथामा समेत ज्येष्ठ अवस्थामा दोस्रो विवाह गरेको मेल खान्छ,’ उनी भन्छन् ।

हरिवंशले पत्नी गुमाएका ज्येष्ठ नागरिकका पीडा नजिकबाट बुझ्ने अवसर पाएको बताउ“छन् । ‘यदि मेरो पनि ५० वर्षको उमेरमा दोस्रो विवाह नभएको भए आज म पनि एकल जीवन बिताइरहेको हुने थिएँ,’ उनले भने, ‘त्यसैले ज्येष्ठ उमेरमा आफूलाई एकल हुनबाट जोगाउन र सहाराका लागि भए पनि दोस्रो विवाह गर्नुलाई राम्रै मान्छु ।’ प्रदर्शोन्मुख चलचित्रमा हरिवंशले अभिनेत्री गौरी मल्लसँग दोस्रो विवाह गरेको देखाइएको छ । फिल्ममा गौरी पनि एकल नै हुन्छिन् ।

संयोग, वास्तविक जीवनमा पनि गौरी एकल नै छिन् । उनको दाम्पत्य सम्बन्धविच्छेद भएको डेढ दशक हुन लाग्यो । फिल्ममा जस्तै गौरीलाई समेत हरिवंश आचार्यले पुनर्विवाह गर्न सल्लाह दिएका छन् । ‘यो चलचित्रमा मेरो जोडी बन्नुभएकी गौरी बहिनी पनि एकल हुनुहुन्छ । उहाँले पनि अर्को विवाह गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव छ,’ हरिवंशले कुराकानी क्रममा भने । ‘दालभात तरकारी’ पछि मदनकृष्ण दाई र म यो फिल्मबाट फेरि दर्शकमाझ आएका छौं ।

यो सिनेमाले ज्येष्ठ नागरिकलाई बाँच्नका लागि फरक आँट दिन्छ भने आफ्नो प्रौढ बुबाआमाको हेरचाह कसरी गर्ने ? भन्नेबारे पनि छोराछोरीलाई जागरुक गराउँछ,’ कुराकानी बिट मार्दै हरिवंशले भने ।

प्रकाशित : बुधबार, कार्तिक ०२, २०७९०६:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमाले–पूर्वएमाले बीच १९ ठाउँमा कडा प्रतिष्पर्धा !