घोषणापत्र निर्माणमा ओलीको तामझाम !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती। जसमा ओलीले दूरबिनबाट टाढाको दृश्य नियालिरहेको, पिङ खेलिरहेको, नेताहरूसँग उभिएर मोबाइलमा हेरिरहेको र समूहमा बसेर छलफल गरिरहेको जस्ता तस्बिर छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

यसरी तामझामसहित लाँकुरी भन्ज्याङमा देखिएका अध्यक्ष ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा लेखनका लागि त्यहाँ पुगेको बताइएको छ।

ती तस्बिरमा अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशील ज्ञवालीलगायत देखिन्छन्। उनीहरूबाहेक केही विषयविज्ञ समेत टोलीमा रहेको एमाले स्रोतले जनाएको छ।

ओलीको सचिवालय स्रोतका अनुसार टोलीले लाँकुरी भन्ज्याङगमा बसेर घोषणापत्रको मस्यौदा तयार पारिरहेको छ। प्रारम्भिक रूपमा घोषणापत्रका लागि जनस्तरबाट प्राप्त सुझावको अध्ययन, विश्लेषणसहित मस्यौदा लेखन भइरहेको छ। अध्यक्ष ओलीले घोषणापत्र निर्माणका क्रममा व्यस्त भएको देखाउन पहिलोपटक यसरी सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका होइनन्।

यसअघि पनि उनी पटकपटक सार्वजनिक चर्चा बटुल्नेगरी घोषणापत्रबारे प्रस्तुत भएका छन्। दुई दिनअघि मात्रै घोषणापत्रकै विषय उल्लेख गर्दै ट्विटर र फेसबुकमा उनले एक तस्बिर सार्वजनिक गरेका थिए। कुर्सीमा बसेर रातो कलमले लेखनमा ध्यानमग्न आफ्नो तस्बिर उनले सार्वजनिक गरेका थिए। जसको क्याप्सनमा उनले लेखेका थिए, आउँदो चुनावका लागि घोषणापत्रमा राख्न तपाईंले पठाएका सुझावहरू हेर्नतिर लागियो।

भदौ २७ गते पनि ओलीले घोषणापत्रका सन्दर्भमा एक भिडिओ सामग्री सार्वजनिक गरेका थिए। ५७ सेकेन्डको उक्त भिडिओको प्रारम्भमा कम्युटरमा बसेर आफ्नै पेजमा आएका टिप्पणीहरू पढिरहेको दृश्य देखाइएको छ। त्यसपछि उनले आफ्नो धारणा राखेका छन्।

‘सामाजिक सञ्जालमा जोडिनुभएका साथीहरू सबैलाई नमस्कार,’ उनले भनेका छन्, ‘समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने सन्दर्भमा कृषि क्षेत्रको महत्वलाई दृष्टिगत गरी लिनुपर्ने नीतिहरू, कार्यक्रम र योजनाहरूका सन्दर्भमा यहाँहरूका सुझावहरू मागेको थिएँ। यहाँहरूले सुझावहरू पठाउनुभएको छ। त्यसका लागि धेरैधेरै धन्यावाद। अरु विषयमा पनि मैले यहाँहरूका महत्वपूर्ण सुझावहरू माग्नेछु। यहाँहरूले सहयोग पु¥याउनुहुनेछ मैले विश्वास लिएको छु। हामी संवादमा रहिरहनेछौं।’

त्यसको केही दिनअघि सामाजिक सञ्जालमा आफ्नो तस्बिरसहित ओलीले ‘तपाईंहरूको सुझाव चाहन्छु’ भन्दै एक पोस्टर सार्वजनिक गरेका थिए। जसमा लेखिएको थियो, ‘राष्ट्रको समृद्धिका लागि व्यापक रूपमा आयात प्रतिस्थापन र निर्माण प्रवद्र्धन उद्योगहरूको विकास गर्ने नेकपा एमालेको नीति छ। यसका लागि उत्पादकत्व र उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्दै आर्थिक परनिर्भरता र व्यापार घाटा अन्त्य गरिनुपर्छ। यसका उपायहरूबारे तपाईंहरूको सुझाव के छ?’ यसमा ७ सय बढी सुझाव आएका छन्।

प्रकाशित : आइतबार, असोज ३०, २०७९०८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सत्ता गठबन्धनको अपिल साझा, घोषणापत्र भने अलग !