कांग्रेसले लियो ओनसरीलाई जिताउने जिम्मा, जिताएरै छाड्ने घोषणा !

काठमाडौं,  कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् ।

शनिबार काठमाडौं–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए । घर्तीजत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु कुइँकुलले काठमाडौं–२ का मतदाताका लागि खुसीको कुरा भएको बताए ।

‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ । उहाँलाई जिताउने जिम्मा हाम्रो हो । काठमाण्डु–२ का काँग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो ।’

संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवार पराजित हुने दाबी गरे । पूर्वसभामुख घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन् ।

आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाण्डु–२ का लागि आफूले पाँच वर्ष दिने बताइन् । उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय काँग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन् ।

‘गिरिजाबाबु, कमरेड प्रचण्ड र कमरेड माधव नेपाल मिलेर अघि बढाउनु भएको शान्ति र संविधानको मिशन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरुले आक्रमण गरिरहेका छन्, यो रोक्न बाम लोकतान्त्रिक गठबन्धन बनेको हो ।’ घर्तीले काठमाडौं–२ को समग्र विकासका साथै तीन कुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने बताइन् ।

प्रकाशित : शनिबार, असोज २९, २०७९१८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण, प्रचण्ड पनि परे लिस्टमा !