फूलमालाको मूल्य बढ्यो !

काठमाडौँ, आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ ।तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले यसपालि तिहारमा १३ करोड ५० लाख रुपियाँ बराबरको २४ लाख ४५ हजार सङ्ख्यामा माला खपत हुने अनुुमान गरिएको बताउनुभयो । फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारमा सयपत्री मालाको खपत धेरै हुने हुँदा माला आयात गर्नु परेको उहाँले बताउनुभयो ।

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने फ्यानले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट नौ करोड ९८ लाख रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ४२ लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपियाँको कारोबार गरेको थियो ।

गत वर्ष ११ करोड ९२ लाख रुपियाँ बराबरको २२ लाख ३५ हजार सङ्ख्यामा मालाको खपत भएको थियो । यो वर्ष माग १० प्रतिशतले बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । एसोसिएसनका अनुसार सयपत्री फूलको प्रतिमाला ५५ रुपियाँ बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा पाँच रुपियाँले वृद्धि भएको छ । गत वर्ष प्रतिमाला ३५ रुपियाँ कायम भएकामा यो वर्ष ४० रुपियाँ तोकिएको एसोसिएसनको भनाइ छ । यस्तै गोदावरी फूलको माला ५० रुपियाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपियाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष चार सय रुपियाँ तोकेको छ ।

एसोसिएसनका अनुसार गत वर्षको तिहारमा १८ लाख १५ हजार सयपत्री फूूलको माला खपत भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुुमान गरिएको तामाङले जानकारी दिनुभयो । यस वर्षको तिहारमा पाँच दिन करिब २० लाख सयपत्री, चार लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले माग धान्ने गरेको र मुख्य सहर केन्द्रित क्षेत्रहरूमा ८५ प्रतिशत आन्तरिक उत्पादन र १५ प्रतिशत आयात गर्नुुपर्ने अवस्था रहेको फ्यानले जनाएको छ । नेपालबाट तिहारमा एक लाख मखमलीका माला भने निर्यात हुने एसोसिएसनले जनाएको छ ।

प्रकाशित : शुक्रबार, असोज २८, २०७९०६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०४८ का राजनीतिक हस्तीहरू अझै चुनावी मैदानमै, अझै पनि पदकै लोभ !