ओली माथि भीम रावलले तेर्स्याए गज्जबको प्रश्न !

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खरो प्रश्न गरेका छन् । अध्यक्ष ओलीले प्रभु साहलाई ‘केही समयअघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको’ भनेर टिप्पणी गरेपछि रावलले ओलीतर्फ नै ‘आलोचनात्मक प्रश्न’ तेर्साएका हुन् । नेता रावलले ओलीलाई ‘संदिग्ध’ नेता साहलाई कसले पालेको भनी प्रश्न गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेपछि साह अध्यक्ष ओलीसँग रुष्ट बनेका थिए ।

सोही विषयलाई लिएर साहले एमाले नेतृत्वको चर्को ओलोचना पनि गर्दै आएका छन् । त्यसैले आफ्नो पार्टी एमालेले दिएको टिकटसमेत त्यागेर साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साह एमालेको स्थायी कमिटी सदस्य हुन् । उनलाई एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट दिएको थियो ।

तर, उनले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मधेस प्रदेशमा एमालेसँगको तालमेलमा भागबण्डा गरेर जसपाले उम्मेद्वार उठाएका निर्वाचन क्षेत्रहरूमा पनि साहले स्वतन्त्र उम्मेद्वार उठाएका छन् । साहको उक्त कदमको विरोध गर्दै एमाले अध्यक्ष ओलीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘साहले पहिलेदेखि नै पार्टीभित्र शंकास्पद र संदिग्ध गतिविधि’ गर्दै आएको आरोप लगाएका थिए । रावलले सोही भनाइलाई लिएर अध्यक्ष ओलीलाई खरो प्रश्न गरेका हुन् ।

‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो’ रावलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्, ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ ‘संदिग्ध र रंगिबिरंगी सर्प’ किन हुर्काइँदै छ भन्ने पनि स्पष्ट गर्ने कि ?’

ओली र रावलबीच लामो समयदेखि ‘टकराव’ हुँदै आएको छ । एमाले महाधिवेशनमा समेत रावलले अध्यक्ष पदमा ओलीविरुद्घ उम्मेदवारी दिएका थिए । त्यसयता पनि रावलले अध्यक्ष ओलीका विभिन्न गतिविधिको ओलोचना गर्दै आएका छन् ।

अर्कोतिर, अध्यक्ष ओलीले पनि आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा रावललाई टिकटबाट वञ्चित गराएका थिए । प्रतिनिधिसभा सदस्यका लागि अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस हुँदा पनि रावललाई ओलीले टिकट दिएका थिएनन् ।

रावल अछाम र सुदूरपश्चिम प्रदेश कमिटीबाट एकल उम्मेदवार सिफारिस भए पनि ओलीले विगतमा गरेका गतिविधिका लागि माफी नमागेसम्म टिकट नदिने भन्ने अडान लिएका थिए । त्यसपछि रावल अध्यक्ष ओलीप्रति झनै रुष्ट बनेका छन् ।

रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह लिएर चुनाव लड्न दिएको र जसपासँग गठबन्धन गरेकोप्रति पनि असन्तुष्टि जनाएका थिए । सोही विषयलाई लिएर यसअघि रावलले ट्विट गरेका थिए, ‘अनैतिकताको नमूना : कमल थापा एमालेको सूर्यमा उम्मेद्वार हुने तर, निजका अरू उम्मेदवार तीर चिह्नमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर, तालमेल एमालेसँग गर्ने ! निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनुपर्ने ? यस्तैलाई एमालेले बोक्ने ? के हुन लाग्यो ?’

-सौर्य दैनिकबाट

प्रकाशित : बुधबार, असोज २६, २०७९०८:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रेसमसहित तीनको उम्मेदवारी खारेज ! को-को ?