काठमाडौं – बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज (बिहीबार) स्वदेश आइपुगेका छन् । स्वदेश आएलगत्तै सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । खराब मौसमका कारण विमान आइपुग्न निर्धारित समय भन्दा केहि समय ढिला भएको बताइएको छ ।
हिजो राती सामाजिक सञ्जालमा कतार एयरवेजको विमानबाट बिहान १०ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका थिए । यसअघि शनिबार सामाजिक सञ्जालमार्फत नै सन्दीपले आफूले आत्मसमपर्ण गर्ने र निर्दोष सावित गर्नका लागि कानुनी लडाई लड्ने बताएका थिए ।
उनले आफू स्वेच्छाले स्वदेश फर्कन लागेको उल्लेख गर्दै प्रहरीलाई फर्कने विषयमा पूर्व जानकारी गराइसकेको बताएका थिए । सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहगोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्याय पाउने विश्वास रहेको पनि उल्लेख गरेका छन् ।
सुरक्षाको कारण देखाउँदै सन्दीपले आत्मसमर्पणका समयमा आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरलेलाई पनि उपस्थितिका लागि स्वीकृति दिन प्रहरीलाई विशेष आग्रह गरेको बताएका छन् । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।
आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । राष्ट्रिय क्रिकेट टोलीका साथ सन्दीप भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।
केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलत्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएका छन् ।