चुनावपछिको सत्ताका कारण अहिले देखि नै गठबन्धनमा लफडा !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट भागबन्डाका विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।

४ मंसिरमा हुने निर्वाचनपछि केन्द्र सरकार र प्रदेश सरकारको हिसाबकिताबमा मुख्य तीन दलको नजर पर्दा गठबन्धनभित्र चुनावी तालमेलको लफडा बढ्दै गएको छ ।

पाँच दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । यी पाँच दलबीचमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कुल १ सय ६५ सिटमध्येबाटै भागबन्डा हुनुपर्छ । तर, गठबन्धनको मुख्य घटक कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावपछिको सरकारमा आफ्नो दबदबा देखाउनेगरी तालमेलको भागबन्डामा अडानमा छन् ।

यसैगरी, प्रदेशसभा निर्वाचनतर्फ पनि कांग्रेस र माओवादी केन्द्रले आफ्नो दबदबा कायम राख्न चाहेका छन् । चुनावपछिको सरकारको अंकगणितलाई जोगाउने गरेर मुख्य दल नै अडानमा रहँदा गठबन्धनबीच चुनावी तालमेलमा हिसाब मिल्न नसकेको हो ।

गठबन्धनभित्रको एउटा घटक जसपा पनि ४ मंसिरको निर्वाचनपछि पनि केन्ददेखि प्रदेशको सत्तामा आफ्नो दाउलाई कायम राख्न चाहन्छ । सो दल प्रदेशतर्फ मधेस प्रदेशमा रहेको आफ्नो नेतृत्वको सत्ता निर्वाचनपछि पनि कायम राख्ने दाउमा छ ।

गठबन्धनभित्रको दल राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले गठबन्धनका बीच मुख्य अडान कांग्रेस र माओवादीबाट देखिँदा समस्या भइरहेको बताउँछन् ।

‘तालमेलमा समस्या मुख्य दलबाटै छ, चुनावपछिको सरकार प्रदेश र केन्द्रमा के हुन्छ ?, बहुमत पुग्छ कि पुग्दैन भन्ने हिसाबकिताबले समस्या देखिएको छ, जसपा पनि मधेस प्रदेशमा सरकारको हिसाब किताब गरिरहेको छ, समस्या सबैतर्फ छ,’ जनमोर्चाका सचिव पुरीले राजधानीसँग भने ।

प्रकाशित : आइतबार, असोज १६, २०७९०९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नगरी काम पुग्दैन खान साँझ र बिहान !