काठमाडौं – नाबालिग बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को साता स्वदेश फर्कर आत्मसमर्पण गर्ने जनाएका छन् ।
सन्दीपले शनिबार सामाजिक सञ्जालमा असोज २० गते स्वदेश फर्कने जानकारी दिएका छन्। आफू निर्दोष रहेको दाबी गर्दै आएका सन्दीपले कानुनी लडाई लड्ने दोहोराएका छन् ।
अनेक अडकलबाजीका बीचमा सन्दीपले असोज ९ गते सामाजिक सन्जालमार्फत आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएको समाचारले मानसिक रुपमा विछिप्त भएको बताएका छन् ।
भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा अनुसन्धान भइरहेको पुलिसले जनाएको छ । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्देष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । उनले केहि दिनमै स्वदेश फर्कने पनि जनाएका थिए । त्यसयता सन्दीप कहाँ छन् भन्ने विषयमा विभिन्न अड्कलबाजी गरिदै आएको छ ।