कांग्रेसभित्र विवाद उत्कर्षमा, विद्रोहका लागि शेखर समूह तयार !

काठमाडौँ — सरकारको नेतृत्व लिइरहेको नेपाली कांग्रेसमा उम्मेदवार चयनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहयोगी नेता–कार्यकर्तालाई मात्रै टिकट वितरण गर्न खोजेको भन्दै शेखर कोइराला नेतृत्वको समूहले विरोध गरेको छ ।

कोइराला समूहले पार्टीभित्र सबै नेता–कार्यकर्तालाई योगदानमा आधारित भएर समान अवसर र न्यायपूर्ण व्यवहार गर्न माग गर्दै विरोध र धर्नाका गतिविधि गर्न थालेपछि कांग्रेसमा अन्तरद्वन्द्व चुलिएको हो । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

कोइराला समूहले समानुपातिकतर्फको सूची सच्याउनुपर्नेदेखि प्रत्यक्षतर्फको टिकट वितरण न्यायोचित हुनुपर्नेसम्मका माग राखेको छ । दुई सातायता दिनहुँजसो गुटगत बैठक, छलफल र विरोधसभा गरिरहेका नेता–कार्यकर्ताले बुधबार केन्द्रीय कार्यालयमै पुगेर धर्ना दिएका थिए भने बिहीबार चियापानको सन्दर्भमा आयोजित भेलाबाट संस्थापन पक्षप्रति आक्रोश पोखेका थिए ।

कोइराला समूहका नेता–कार्यकर्ताले निरन्तर संघर्ष जारी राखेपछि सभापति देउवाले निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिक उम्मेदवारको सूची सच्याउने बचन दिएका छन् । तर, त्यसबारे छलफल गर्न बिहीबार र शुक्रबार निरन्तर बैठक बसे पनि सहमति भएको छैन ।

‘सभापतिले जुन बचन दिनुभएको छ, त्यसबारे छलफल भइरहेको छ, हामी शनिबारसम्म पर्खिन्छौं,’ कोइरालानिकट नेता गुरुराज घिमिरेले भने, ‘नेतृत्वले पार्टीभित्र समान अवसर र न्यायपूर्ण निर्णय गर्न सक्दैन भने विद्रोहको विकल्प छैन । महाधिवेशनमा प्रतिस्पर्धी भएकै कारण कसैलाई पाखा र कसैलाई काखा गर्न मिल्दैन ।’

कोइराला समूहले पार्टीभित्र अवसरको बाँडफाँट र वितरण गर्दा सभापति देउवाले महाधिवेशनमा आफूलाई भोट हाल्नेलाई प्राथमिकता दिएको र प्रतिस्पर्धा गर्नेलाई नियतवश पाखा लगाएर अघि बढ्ने प्रयास गरेको आरोप लगाएको छ । ‘पार्टीभित्र सधैं दुई लाइन संघर्ष हुँदै आएकै हो तर अहिलेजस्तो एकलौटी भएको थाहा थिएन,’ घिमिरेले भने, ‘लोकतान्त्रिक पार्टीभित्र चुनावमा टिकट बाँड्ने बेला नेतृत्वले महाधिवेशनमा यसले आफूलाई भोट हाल्यो कि हालेन भन्दा पनि जनताको बीचमा को लोकप्रिय छ, कसलाई उम्मेदवार बनाउँदा न्यायपूर्ण हुन्छ भनेर तौलिनुपर्ने हो, जुन अहिले भइरहेको छैन ।’

देउवाले समानुपातिक बन्दसूची सच्याउने र प्रत्यक्षतर्फको टिकट वितरणमा समेत मिलाएर अघि बढ्ने बचन दिएपछि नेता कोइराला आफैंले बुधबार साँझ आफूपक्षीय आन्दोलनरत नेताहरूलाई बोलाएर त्यसबारे व्याख्या गरेका थिए । ‘सभापतिजीले उम्मेदवार चयनमा भएको कमजोरी सच्याउँछु भन्नुभएको छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले कान्तिपुरसँग भने, ‘हामी भित्र संघर्ष गरिरहेका छौं, तपाईंहरू बाहिरबाट अहिलेको संघर्षलाई निरन्तर अघि बढाउनुस् । पार्टीभित्र अवसरको न्यायोचित वितरण नभएको अवस्थामा विद्रोहको विकल्प छैन ।’

प्रकाशित : शनिबार, असोज १५, २०७९०९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुनावपछिको सत्ताका कारण अहिले देखि नै गठबन्धनमा लफडा !