मनसुन कहिले बहिरिएला, दसैँमा पानी पर्ला कि नपर्ला ?

Shot of a dramatic thunderstorm over a mountainhttp://195.154.178.81/DATA/i_collage/pi/shoots/783670.jpg

काठमाडौँ – यस वर्ष ढिलोगरी नेपालबाट मनसुन बाहिरिने भएको छ। मौसम पूर्वानुमान महाशाखा नेपालबाट ढिलो मनसुन बाहिरिने जनाएको हो। मौसम पूर्वानुमान महाशाखाले दसैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै यसपालि मनसुन ढिला बाहिरिने दावी गरेको हो।

यस वर्षको मनसुन एक साता धकेलिने भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता ढिला बाहिरिने भएको छ।

भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण दसैँभर पानी पर्न सक्ने सम्भावना देखिएको छ। विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।

महाशाखाले जारी गरेको दसैँका लागि विशेष मनसुन बुलेटिन निम्न छ –

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ।

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा मिति २०७९-०६-१८ देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ। यसले गर्दा,

मिति २०७९-०६-१८, मंगलबार (नवमी) : देशभर आंशिक देखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मिति २०७९-०६-१९, बुधबार (विजया दशमी) : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

मिति २०७९-०६-२०, बिहीबार (एकादशी) : देशभर सामान्य देखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मिति २०७९-०६-२१, शुक्रबार (द्वादशी) : देशभर सामान्य देखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

तसर्थ यी दिनहरूमा देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।

यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन दैनिक हेर्न अनुरोध छ ।

प्रकाशित : शनिबार, असोज १५, २०७९०८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बजारमा बाख्राको मासु छ्याप-छ्याप्ती, खसीको भन्दै महँगोको बिक्री गर्दै !