काठमाडौं । आगामी मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुईवटा गठबन्धबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेतृत्व गर्ने सात दलीय गठबन्धनबीच चुनावी भिडन्त हुने भएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
राष्ट्रिय रूपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक दलसँग ‘चुनावी तालमेल’ गर्ने भएपछि चुनावी मैदानमा दुईवटा गठबन्धन देखिने पक्का भएको छ । सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल एक समूहमा आबद्ध छ । त्यस्तै नेकपा एमालेको नेतृत्वमा बन्न लागेको अर्को गठबन्धनमा महन्थ ठाकुरले नेतृत्व गरेको लोसपा, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र नेपाली कांग्रेस (बीपी) मिल्ने भएका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल गर्न तयार भएपछि एमाले पनि त्यसमा सकारात्मक भएको एमाले नेताहरूको भनाइ छ । एमाले नेता विशाल भट्टराईका अनुसार गठबन्धनका लागि साना दलहरूसँगको छलफल जारी छ । ‘अरू दलका त नाम मात्रै हो’, भट्टराईले भन्नुभयो– ‘खास गरी लोकतान्त्रिक समाजवादी र राप्रपासँगको चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ, निष्कर्षमा पुगेका छैनौं ।’ नेपाली कांग्रेस बीपीलागायत दलहरूका उम्मेदवाहरूसँग अवस्था र आवश्यकताअनुसार सहयोग लेनदेन हुने उहाँको भनाइ छ । ‘राप्रपा र लोसपासँग चुनावी एकता गरेरै जाने मनस्थितिमा हामी छौं’, भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तालमेलका मापदण्डका विषयमा छलफल चलिहरेको छ । बाँकी दल भनेका नाम मात्रैका दल हुन, तर कहीँ कतै सहयोग आदानप्रदान गर्दा परिणाम आउने ठाउँहरूमा सँगै हुन सकिन्छ भन्ने सम्मको छलफल भएको छ ।’
एमालेसँग चुनावी तालमेल गर्न आफूहरू तयार भएको कुरा राप्रपा र लोसपाका नेताहरूले सार्वजनिक गरिसकेका छन् । उक्त प्रस्तावलाई एमालेले पनि ‘ग्रिन सिग्नल’ दिएर उनीहरूको शक्ति अध्ययन गरिरहेको छ । ती पार्टीसँग एमाले अध्यक्ष केपी ओलीले आफूले दाबी गर्ने क्षेत्र र एमालेलाई सघाउन सक्ने क्षेत्रको शक्तिसहितको प्रस्ताव माग भएको एमालेका नेताहरूले बताए । राप्रपा, लोसपा र सिके राउतले सिट, क्षेत्र र चुनाव जित्ने आधारसमेतको मागसहित ओलीलाई प्रस्ताव बुझाइसकेको लोसपाका एक नेताले बताए । चुनावी सहकार्य गर्ने भन्ने कुरा लगभग टुंगिइसकेको लोसपाका नेता राजेन्द्र महतोले बताउनुभयो ।