काठमाडौँ – संसद्ले दोहोर्याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरिदिनुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दोषी करार गर्ने मधेसमा अभियान चलिरहेको छ। अभियानलाई पाखा लगाँउँदै केपी ओली मधेसका गाउँगाउँ पुगेर मधेस केन्द्रित दलकै नेतालाई आफ्नो पार्टीमा भित्र्याउँदै गरेको दृश्यले मधेस राजनीतिलाई रोमाञ्चित बनारहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
शनिबार हावाई मार्गबाट मधेस प्रदेशको राजनधानी जनकपुरधाम आई विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले उनलाई कालो झण्डा देखाएका थिए। तर, उनी रेल्वे स्टेसन पुगेर रेल चढ्दा सर्वसाधारणको भिड उर्लिएको थियो। भिड देखेर उत्साहित ओली रेलको झ्यालबाट लिकको छेउछाउ उभिएकालाई हात हल्लाउँदै अगाडि बढेका थिए।
जनकपुरमा रेल चढेर मैनाधपुर स्टेसनमा ओर्लिएर अध्यक्ष ओली त्यहाँबाट गाडीमै कार्यक्रम स्थलमा पुगेका थिए। कार्यक्रम स्थलमा पुग्नुअघि अध्यक्ष ओलीले जेल जीवनमा सँगै बसेका धनुषा सहिदनगर नगरपालिका–६ हरबाराका मुर्बल भनिने रामनारायण मण्डलको घरमा पुगेर चिया पनि खाएका थिए। मुर्बलको निधन भइसकेको छ।
मुर्बलका छोरा अपराजित मण्डल स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिकटमा सो वडाका वडाध्यक्षमा चुनाव लडेर पराजित भएका हुन्। अध्यक्ष ओलीले मण्डललाई फूलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए।
ओलीको यो पहिलो मधेस यात्रा भने होइन। तर ओलीका लागि उत्साहजनक यात्रा भने ०७२ पछिको पहिलो हो। ०७२ को संविधान जारी भएपछि मधेसमा बलिदानीपूर्ण आन्दोलन चलिरहेको थियो। मधेस आन्दोलित रहेको बेला फागुन २३ गते सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको एमालेको मेची–महाकाली यात्रा कार्यक्रमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले चलाएको गोली लागी मलेठका पाँचजना सर्वसाधारणले ज्यान गुमाएपछि आन्दोलनले उग्र रूप लिएको थियो। एमालेले यस घटनापछि मेची–महाकाली यात्रा केही दिनका लागि स्थगित गरेको थियो। ०७२ असोज १४ मा हुलाकी राजमार्गभरि बाँधिएको मानवसाङ्लोलाई ओलीले ‘माखेसाङ्लो’ भनी कटाक्ष गरेका थिए। मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट आन्दोलनकारी मारिँदा ‘बोटबाट २–३ वटा आँप झर्दैमा केही हुन्न’ भन्ने ओलीको भनाइले मधेसको मनमा गहिरो घाउ बनायो। त्यसपछि एमाले र खासगरी ओलीसित मधेस झन् बिच्कियो। त्यसयता ओली भित्री मधेस छिर्न सकेका थिएनन्।