काठमाडौं, चोरी भई हराएको मोटरसाइकलसहित काठमाडौं महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।
वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई शुक्रबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
एनएस २०० सिसिको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न भट्टले अनुरोध गरे।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने भट्टको भनाई छ।