काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध आफूहरु अदालत जाने तयारीमा रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा आफूहरु रहेको बताएका हुन्।
बुधबार खुमलटार निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमका क्रममा प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सो विषयमा के गर्ने भन्ने बारे गठबन्धनका घटकबीच कुराकानी भइरहेको प्रचण्डले जानकारी दिए। सो सम्बन्धमा अधिवक्ताहरूसँग परामर्श भइरहेको पनि प्रचण्डले बताए।
“हिजो राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो। संवैधानिक व्यवस्थाअनुसार विधेयकलाई राती १२ बजेसम्म रोक्ने राष्ट्रपतिलाई अधिकार छैन। जसरी पनि प्रमाणीकरण गर्नैपर्ने थियो। राष्ट्रपतिले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो।’,प्रचण्डले भने,”राष्ट्रपतिको कदम संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध छ।”
प्रचण्डले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार अदालतलाई रहेको प्रचण्डले बताए। उनले भने,”संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार अदालतलाई छ। त्यो संविधानले नै परिभाषित पनि गरेको छ। अदालत जाने भनेरै हामीले अधिवक्ताहरुसँग छलफल पनि गर्दैछौं।”