चितवन, मत्स्य व्यवसायीले मंगलबार पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा मंगलबार नष्ट गरिएको छ । पछिल्लो केहि दिन यता भारतीय माछा नियन्त्रणमा मत्स्य व्यवसायीहरु आक्रामक बनेका छन् ।
मंगलबार बिहान लु २ च ६८५८ नम्बरको बोलेरोमा ५० कार्टुनमा ल्याइएको रहु र पंगास जातका भारतीय माछा व्यवासायीले नियन्त्रणमा लिएको हुन् । भारतीय माछाको रुपन्देहीको राधिका मत्स्य फर्मको नाममा किर्ते भेटेरिनरी प्रमाण पत्र बनाएर भन्सार छली गरी अवैध रुपमा काठमाडौं लैजान थालिएको अवस्थामा नियन्त्रणमा लिईएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।
नवलपरासीको रामग्राम नगरपालिका–४ का अनिल केवटले राधिका मत्स्य फर्मको नाममा चार लाख ५४ हजार रुपैयाँको बिल बनाएर अवैध रुपमा माछा ल्याएको पाईएको हो । हिजो (सोमबार) पनि व्यवसायीले ६२० केजी भारतीय माछा नियन्त्रणमा लिएर नष्ट गरेका थिए । मस्त्य व्यवसायीले हेटौंडा र सिन्धुलीबाट नियन्त्रणमा लिएको माछा पनि मंगलबार नष्ट गरेका छन् ।