काठमाडौँ – राष्ट्रपति विद्या भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले नागरिकता विधेयक प्रमाणीकरण नहुने बताएका छन्। विभिन्न मिडियाहरुसँग कुराकानी गर्नेक्रममा यादवले राष्ट्रपति भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने मुडमा रहेको बताएका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण गर्नको लागि आज अन्तिम दिन भएपछि राष्ट्रपतिले त्यस्तो कुनै तयारी नगरेको यादवले बताए। उनी भन्छन्,”नागरिकता विधेयक अहिलेसम्म प्रमाणीकरण गर्ने कुनै तयारी छैन।”
विधेयक प्रमाणीकरणका लागि पठाएको आज १५ औं दिन हो। संविधान अनुसार दोस्रोपटक विधेयक संसदबाट प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।
नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने कुरा उठिरहेको सम्बन्धमा यादवले राष्ट्रपति हेड अफ द स्टेट भएका कारण राष्ट्रपतिले राजीनामा नदिने पनि बताए।
“राष्ट्रपति व्यक्ति विद्या भण्डारी मात्रै होइनन्। उहाँ त हेड अफ द स्टेट हो, संस्था हो । उहाँले सम्माननीय राष्ट्रपतिको हैसियतमै हिँड्नुपर्छ । दोस्रो कुरा उहाँ राज्यको प्रथम नागरिक भएको हुनाले उहाँलाई संविधानको धारा ६१ को ४ मा कर्तव्यबारे दिइएको छ।”,यादवले एक मिडियासँग कुराकानी गर्नेक्रममा भने,”यो नागरिकता समस्या मधेसको मात्रै पनि होइन । देशकै समस्या हो । त्यस कारण राष्ट्रपतिले राजीनामा दिने कुरा पनि हुँदैन । उहाँले त संविधानको संरक्षण गर्ने, नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रजातान्त्रिक अधिकार दिलाउने हो । किन राजीनामा गर्ने ? राजीनामा दिने कारण के ? त्यो सम्भव छैन।”