काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सर्वोच्च फर्कन प्रयास सरकारी असहयोगका कारण असफल भएको छ । निलम्बनलाई चुनौती दिँदै राणाले आइतबार अदालत जाने जमर्को गरेका थिए । राणाले आइतबार आफू सर्वोच्च फर्कने भन्दै सर्वोच्चका राजिस्टार लगायतलाई तयारी रहन शनिबार राती नै निर्देशन दिएका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
सरकारले भने उनको यो गतिविधिमा निगरानी बढाउँदै सुरक्षा सतर्कता बढाएको थियो । राणाले भने सरकारी निवासबाट बाहिर निस्कन असहज भएको र नजरबन्दजस्तै अवस्थामा रहेकोले अदालत उपस्थित हुन नसकेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले हिँडडुल गर्न पाउने आफ्नो नागरिक अधिकारसमेत हनन् भएको आरोप लगाएका छन् ।
स्रोतका अनुसार आइतबार चोलेन्द्रले नौ बजे नै अदालत प्रवेश गर्ने योजना बनाएका थिए । तर, नेपाल बार एसोसिएसनको आकस्मिक बैठकले उनलाई सर्वोच्चभित्र छिर्न नदिने भन्दै अदालतअगाडि वकिलहरू धर्ना बसेका थिए । उनलाई स्वगत गर्न केही खादा र मालासमेत त्यहाँ देखिएका थिए । तर, केहीबेरमा उनीहरू त्यही बिलाएका थिए ।
राणाले सर्वोच्चमा जसरी पनि फर्केने तयारी गरेपछि उनलाई आइतबार बिहानैदेखि बालुवाटारमा सुरक्षा निकायको निगरानीमा राखिएको थियो । आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यकाल शनिबार मध्यरातबाट नै सकिएपछि जबरा आइतबार सर्वोच्च अदालत आउने बताएका थिए । जबरााविरुद्ध १ फागुन ०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो ।
दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर शनिबार साँझ अबेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको होे ।