काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ। आइतबार सरकारले चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारले राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन प्रहरीलाई निर्देशन दिसकेको थाहा हुन आएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र स्टर्टिङमा खटिने सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइसकिएको छ।
राणाको सुरक्षाका लागि ८ जना सुरक्षाकर्मी परिचालित थिए। सरकारको निर्देशन पछि सबै प्रहरी प्रधान कार्यालयमा फिर्ता भइसकेका छन्। जबरामाथिको छानबिन र अनुसन्धान महाभियोग सिफारिस समितिले शनिबार टुङ्ग्याएको थियो। छानबिन सकाएर समितिले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइसकेको छ।
चोलेन्द्रमाथिको अवरोध हटाउन मानवअधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ । आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगलेगरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो ।
संविधानप्रदत्ता वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ ।
‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ । यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अत: संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले राणाको निवासमा आवत जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको अनुगमनको क्रममा पाइएको जनाएको छ ।