काठमाडौँ — स्वास्थ्य मन्त्रालयले डेंगीका कारण बजारमा सिटामोल अभाव भएको भन्दै मूल्य बढाउने तयारी थालेको छ । यही विषयमा निर्णय गर्न आइतबार मन्त्रालयमा औषधि परामर्श समितिको बैठक बोलाइएको छ । समितिको अध्यक्ष स्वास्थ्यमन्त्री र सदस्य सचिव औषधि व्यवस्था विभागका महानिर्देशक छन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
स्रोतका अनुसार व्यापारीहरूको दबाबमा प्रतिट्याब्लेट एक रुपैयाँ पर्ने सिटामोललाई ३ देखि ६ रुपैयाँसम्म र जीवनजल १० रुपैयाँबाट बढाएर २५ रुपैयाँ पुर्याउने तयारी छ । व्यापारीको चाहना र मन्त्रालयको तयारीबमोजिम मूल्य बढे उपभोक्ताले एक फाइल सिटामोल खरिद गर्न ५० रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सिटामोल अभावबारे छलफल गर्न बैठक बोलाइए पनि मूल्य बढाउने कुरा हल्ला मात्र भएको दाबी गरे । ‘तत्काल कुनै पनि औषधिको मूल्य बढ्दैन,’ उनले भने । सामान्यतः दुखाइ कम गर्न तथा ज्वरो घटाउन सिटामोल आधारभूत औषधि हो । औषधि व्यवस्था विभागले यसलाई अत्यावश्यकमा सूचीकृत गर्दै आएको छ । सरकारले स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्नुपर्ने औषधिको सूचीमा सिटामोल दोस्रो नम्बरमा छ ।
अहिले बजारमा डेंगी संक्रमणका कारण सिटामोलको चरम अभाव छ । यसले बिरामी मर्कामा छन् । सिटामोलको सट्टा दुखाइ कम गर्नेजस्ता वैकल्पिक औषधि सेवन गर्न बिरामी बाध्य छन् । सामान्यतया बजारमा वार्षिक ५ करोड चक्कीको माग छ तर सरकारबाट उत्पादनको जिम्मेवारी पाएको नेपाल औषधि लिमिटेडले वार्षिक ८० लाख हाराहारी मात्र उत्पादन गर्ने गरेको छ ।
जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले केही बजेट व्यवस्थापन गरेर सिटामोल, जीवनजललगायत सरकारले निःशुल्क दिने ९८ थरी औषधि उत्पादन सरकार आफैंले गर्नुपर्ने बताए । ‘यसका लागि नेपाल औषधि लिमिटेडलाई जिम्मेवारी दिन सकिन्छ, यसो गर्न सकेमा जनताले सर्वसुलभ मूल्यमा औषधि पाउन सकिन्छ,’ उनले भने, ‘यही मोडेलबाट भारत सरकारले प्रत्येक प्रदेशमा उद्योग स्थापना गरेर औषधि उत्पादन गर्दै आएको छ । त्यही कारण नेपाली बजारमा भन्दा भारतीय बजारमा औषधिको मूल्य सस्तो छ ।’