काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई चुनावमा कुन मुख देखाएर भोट माग्न जाने भनेर प्रश्न गरेका छन्।
शाहले शनिबार साँझ सामाजिक संजाल मार्फत काठमाडौँ महानगरपालिका स्थित तिनकुनेको खालि जग्गाको विषयमा रहेको समस्या उठान गर्दै माधव नेपाल माथि त्यस्तो प्रश्न तेर्स्याएका हुन्।
शाहले पूर्वप्रधानमन्त्री मात्र नभई वर्तमान राष्ट्रपतिलाई पनि सो प्रश्न गरेका छन्। निर्वाचनका लागि अझै दुई महिना रहेका कारण दुई महिनामा तीनकुनेको समस्या समाधान गर्न नेता नेपाललाई शाहको आग्रह छ।
“आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।”,शाहले सामाजिक संजालमा लेखेका छन्।