थापाको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै शर्मा !

काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन्। पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका लागि चालेका कदमलाई शर्माले एकपछि अर्को गर्दै उल्ट्याउन सुरु गरेका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सेनाभित्र हाबी हुँदै गएको आर्थिक अनियमितासहित विषयमा कठोर निर्णय लिएको भन्दै थापा चर्चामा आएका थिए। तर सेनाको नेतृत्वमा शर्मा आएसँगै पूर्ववर्ती सेना प्रमुखले सुरु गरेका सुधारका सबै कार्यक्रमलाई उल्ट्याउने क्रममा उनले कमान्ड कन्सेप्टलाई एक वर्षमै स्थगित गर्दै पुरानै आठ पृतना हेडक्वार्टरको संरचनामा फर्काएका छन्। शर्माले सरकारलाई दिएको परामर्शपछि भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरानै संरचना ब्युँतिने भएको हो। योसँगै अब नेपाली सेनाका ७ प्रदेश तथा एक राजधानी गरै पुरानै आठ पृतना हेडक्वार्टर पुनःस्थापित हुनेछन्।

सेनाका प्रवक्ता सहायक रथी नवराज सिलवालले सेना पुरानै संरचनामा गए पनि कमान्ड कन्सेप्टबाट नबाहिरिने बताए। ‘कमान्ड कन्सेप्ट जारी नै रहन्छ। मात्र हुबहु कार्यान्वयनमा तत्काल नजाने हो। राज्य सक्षम भएका बेला जाने बाटो खुला नै रहन्छ,’ उनले भने । तर त्यसो गरिँदा संघीय संरचनालाई भने ध्यान दिइने उनको भनाइ थियो । ‘देश संघीय संरचनामा भएकाले व्यावहारिक रूपमा संघीयताअनुकूलको संरचना पनि चाहिन्छ भन्ने बुझाइ भएको छ,’ उनले भने।

नयाँ अवधारणाको कमान्ड कन्सेप्टमा जाने क्रममा नयाँ बन्ने गण, गुल्म, नयाँ पूर्वाधार संरचना, हातहतियार तथा खरखजानामा धेरै खर्च लाग्ने भन्दै प्रवक्ता सिलवालले भने, ‘जुन अहिलेको देशको अर्थतन्त्रले पनि धान्न नसकिने देखियो। यसो हुनुभन्दा पुरानै स्थापित संरचनामा फर्किंदा प्रदेशसँग समन्वय गरेर काम गर्न सघाउ पनि पुग्ने र थप आर्थिक भार नपर्ने भएपछि सेना पुरानै संरचनामा फर्किने समीक्षामा पुगेको हो।’ सेनाले २०७८ साउन १ देखि कमान्ड कन्सेप्टमा आफूलाई लगेको थियो। २०८३ सम्म पूर्ण रूपमा यो कन्सेप्टमा सेनालाई रूपान्तरण गरिसक्ने गरी पुराना ८ पृतना खारेज गरेको थियो। कमान्ड कन्सेप्टलाई ‘थ्री प्लस–वान’ कमान्डका आधारमा संरचना गरिएको थियो। जसमा पूर्वी–कमान्ड, मध्य–कमान्ड र पश्चिम–कमान्ड गरी तीन र उपत्यका–कमान्ड गरी सैनिक मुख्यालयअन्तर्गत चारवटा कमान्ड–कन्ट्रोल रहने व्यवस्था थियो।

प्रकाशित : शनिबार, असोज ०१, २०७९०९:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खानेपानी मुद्दामा उपमहानगरको गेटै उखेल्ने हर्कको यसरी भयो उदय !