काठमाडौँ – करिब पाँच वर्षको अवधिमा संसद् सञ्चालनका लागि तीन अर्ब ७१ करोड रुपियाँको हाराहारीमा खर्च भएको छ। यो खर्च सचिवालयको पुँजीगत र चालू खर्चबाहेकको हो। यस्तै चार पदाधिकारीका लागि छुट्याइएको बजेटमध्ये १५ करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ। यो समाचार गोरखापत्रमा प्रकाशित छ।
नयाँ निर्वाचनका लागि मिति घोषणा भई समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने अघिल्लो दिनलाई कार्यकालको अन्तिम दिन मान्ने निर्वाचन आयोगको व्याख्याअनुसार प्रतिनिधि सभाको कार्यकाल शनिबार समाप्त हुन लागेको हो। सरकारले अधिवेशनको औपचारिक अन्त्यको पत्राचार गर्ने सङ्केत गरेपछि सभाको अन्तिम बैठक पनि शनिबार दिउँसोका लागि बोलाइएको छ।
अधिवेशन अन्त्यको जानकारी संसद्लाई
राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्यबारेको पत्र संसद्मा पठाएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्यको पत्र सचिवालयमा पठाइएको हो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यबारेको पत्र प्राप्त भएको जानकारी दिनुभयो।
सभाको कार्यकाल अन्योल कायम रहेका बेला अधिवेशन अन्त्यका लागि पत्राचार भएको हो। शनिबार दिउँसो बस्ने बैठकमा पत्रबारे जानकारी गराइने छ। साथै उक्त बैठकमा चालू अधिवेशनले गरेका काम कारबाहीबारे पनि जानकारी दिइने छ। चालू अधिवेशन जेठ ३ गतेबाट प्रारम्भ भएको थियो। अधिवेशन अन्त्यसँगै पहिलो पटकको सङ्घीय संरचना भएको निर्वाचनपछिको प्रतिनिधि सभाको कार्यकाल पनि औपचारिक रूपमा सकिँदैछ।