उम्मेद्वार सिफारिसमा सुध्रिएनन् दलहरू: गुन्डा नाइकेदेखि आपराधिक पृष्ठभूमिकासम्म मौका !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि दलहरूले धमाधम आफ्ना उम्मेद्वारको नाम सिफारिस गरिरहेका छन् । विभिन्न दलका स्थानीय कमिटीहरूले सिफारिस गरेका नामहरू विभिन्न चरण पार गर्दै केन्द्रसम्म आइपुग्नेछ । त्यसपछि केन्द्रले उम्मेदवारहरूको अन्तिम टुंगो लगाउनेछ । तर, दलका स्थानीय कमिटीहरूबाट आएका कतिपय नामहरू नै अहिले चर्चाको विषय बन्न पुगेको छ । विभिन्न दलका स्थानीय कमिटीहरूले उम्मेद्वारका रूपमा सिफारिस गरेको नाममा थुप्रै विवादित व्यक्तिहरूको नाम पनि परेको छ । यो लेख सौर्य दैनिकमा प्रकाशित छ।

पटकपटक विवादमा परेका र आपराधिक पृष्ठभूमि भएका ब्यक्तिहरूको नाम पनि उम्मेद्वारको रूपमा सिफारिस भएको छ । विगतका गल्तीहरू ढाकछोप गर्ने उद्देश्यले योजनाबद्ध रूपमै राजनीतिक दलहरूले यस्ता नाम सिफारिस गरेका हुन् । दलका नेताहरूले भाषणमा संविधान, कानुन र आफ्नो दलको विधानले वर्जित गरेका खराब पृष्ठभूमिका व्यक्तिलाई निर्वाचनमा सिफारिस नगर्ने बताए पनि पार्टी नेतृत्वको दबाबमा हरेकजसो दलबाट यस्ता नामहरू पर्याप्त मात्रामा सिफारिस भएका छन् ।

अहिले सिफारिए भएर आएका कतिपय नाम त विगतका चुनावमा समेत सिफारिस भएका थिए । तर, त्यतिबेला पनि दलहरूको यस्तो क्रियाकलापको चर्को विरोध भएको थियो । अरू त अरू कर्तव्य ज्यानजस्तो गम्भरी मुद्दामा जेल जीवन बिताइरहेका व्यक्तिलाई समेत दलहरूले उम्मेद्वारको रूपमा सिफारिस गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस त यसमा झनै अगाडि देखिएको छ । अन्य दलहरूले विवादास्पद छवीका व्यक्तिलाई उम्मेदवारका रूपमा सिफारिस गरे पनि सरकारले त्यसलाई रोक्ने सामथ्र्य राख्नुपथ्र्यो । तर, सरकारकै नेतृत्व गरिरहेको दल कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गुन्डा नाइकेदेखि जघन्य अपराधमा फसेका व्यक्तिलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । गलत मान्छेले चुनावमा टिकट पाउँदा त्यसको असर राज्य संयन्त्रको कार्यसम्पादनमा मात्रै नभएर स्वयं सम्बन्धित राजनीतिक दलको विश्वसनीयतामाथि समेत प्रश्न उठ्ने विज्ञहरू बताउँछन् ।निर्वाचनका लागि गुन्डा नाइके गणेश लामा, बलराम सापकोटा (बले), राजु गोर्खाली र शुक्रराज तामाङ कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । अघिल्लोपटक पराजित लामालाई कांग्रेसले यसपटक पनि काभ्रे १ को (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्यका रूपमा निर्वाचित लामा विजय गच्छदार निकट मानिन्छन् । गुन्डागर्दी पृष्ठभूमिका लामालाई गच्छदारकै दबाबमा देउवाले सिफारिस गरेका हुन् । सम्पत्ति शुद्धीकरणसँगै अन्य आपराधिक गतिविधिमा पटकपटक मुद्दा चलाइएका लामा सुरुमा गच्छदारको पार्टी मधेसी जनाधिकार फोरममा प्रवेश गरेका थिए । गच्छदार पार्टी फुटाएर पुरानै माउ पार्टी कांग्रेसमा प्रवेश गरेका थिए । क्यासिनोमा मिटर व्याजमा पैसा लगानी गर्ने ‘क्यासिनो किङ’को परिचय बनाएका बलराम सापकोटा उर्फ बले पनि काभ्रे १ को प्रदेशसभा (क) बाट समानुपातिक कोटामा सांसद सिफारिसमा परेका छन् । सुरुमा एमालेसँग दलीय आवद्धता रहेका सापकोटा चुनावमा टिकट पाउनकै लागि कांग्रेसमा प्रवेश गरेको चर्चा यसअघि थियो ।

गुन्डा नाइके राजु गोर्खालीलाई पनि प्रतिनिधिसभाका लागि कांग्रेसले उम्मेद्वार सिफारिस गरेको छ । कांग्रेस सिन्धुपाल्चोक जिल्ला समितिले उनको नाम क्षेत्र नम्बर २ मा सिफारिस गरेको हो । बालुवा ठेक्का र रात्रीकालीन व्यवसायमा हप्ता असुलीमा गोर्खालीको एकताका ठुलै दबदबा थियो ।चाबहिल क्षेत्रलाई आफ्नो गुन्डागर्दीको थलो बनाएका गोर्खाली अहिले भने सुसुप्त अवस्थामा छन् । राकेश लिम्बूको हत्या अभियोगमा दोषी ठहर भएपछि लामो समय फरार भएका उनी पछि काठमाडौंबाटै पक्राउ परेका थिए । गोर्खाली यसअघि कांग्रेस महाधिवेशन प्रतिनिधिमा पनि निर्वाचित भएका थिए ।

यसैगरी गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे कांग्रेससँग तालमेल गरेर चुनाव लड्ने तयारीमा देखिन्छन् । मनाङेको मन्त्री हुँदा पनि गुन्डा नाइकेको छवि मेटिएको छैन । त्यसो त उनी ०७४ सालको निर्वाचनमा पनि मनाङ प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । आगामी प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसको समर्थनमा चुनाव उठ्ने तयारी मनाङेको छ । प्रहरीको अभिलेखमा गुन्डा नाइकेको लिस्टमै रहेका मिलन गुरुङ उर्फ चक्रे मिलन र परशुराम बस्नेतसमेत उम्मेद्वार सिफारिसमा परेका छन् । चक्रेलाई एमाले क्षेत्रीय कमिटीले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । चक्रे चक्रपथ क्षेत्रमा गुन्डागर्दीका लागि परिचित नाम हो । गुन्डागर्दी, चन्दा असुली र अकुत सम्पत्ति कमाएको आरोपमा पटकपटक पक्राउ परेका चक्रे जेल बस्दै छुट्दै आएका विवादित पृष्ठभूमिका व्यक्ति हुन् ।

एमालेले मोरङ क्षेत्र नम्बर ६ (ख) बाट पर्शुराम बस्नेतलाई प्रदेशसभा निर्वाचनमा सिफारिस गरेको छ । विराटनगरमा गुन्डागर्दी गरेर चर्चामा आएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको निर्वाचन परिचालन सचिवालयको सदस्यसमेत हुन् । सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएका बस्नेत ओलीनिकट मानिन्छन् । ०६९ सालमा पत्रकार खिलानाथ ढकालमाथि सांघातिक आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।जघन्य अपराधमा मुछिएका र जेलमा परेका व्यक्तिसमेत निर्वाचनमा सिफारिस भएका छन् । रौतहटमा इँटाभट्टामा जिउँदै मान्छे जलाएर हत्या गरेको र बम बिष्फोट गराएको आरोपमा जेलमा रहेका अफताब आलम रौतहट क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका छन् ।

आलमलाई सत्तापक्ष नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप आलममाथि छ । उनको मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा रहेको छ । भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पनि कांग्रेसले प्रतिनिधिसभातर्फ उम्मेद्वार सिफारिस गरेको छ । मनाङ कांग्रेसको जिल्ला कमिटीले गुरुङलाई एकल र सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार रुपैयाँ अनियमितता भएको दाबी गर्दै पूर्वश्रममन्त्री र गुरुङसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७५ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको अझै किनारा लागेको छैन ।

अख्तियारबाटै भ्रष्टाचार मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई पनि कांग्रेसले सुनसरी ३ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गरेको आरोपमा अख्तियारले गच्छदारसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । मुद्दा अहिले पनि विचाराधिन अवस्थामा छ ।

यसैगरी कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका रामशंकर यादव स्वर्गीय नेता प्रदीप गिरीको निर्वाचन क्षेत्र सिराहा १ बाट सिफारिसमा परेका छन् । प्रहरी जवान हत्या अभियोगमा उनी ०६९ सालमा पक्राउ गरेर जेल चलान भएका थिए । संविधान दिवसका अवसरमा ०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर यादव जेलमुक्त भएका थिए । ०७२ साल भदौमा टीकापुर नरसंहार (हत्याकाण्ड) मा मुछिएका रेशम चौधरी फेरि पनि बर्दिया २ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएका छन् । निलम्बित सांसद चौधरीलाई उनकै नागरिक उन्मुक्ति पार्टीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । हाल उनी डिल्लीबजार कारागारमा जेलजीवन व्यतित गरिरहेका छन् ।

प्रकाशित : शनिबार, असोज ०१, २०७९०८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सकियो संसदको कार्यकाल, पाँच वर्षमा कति भयो खर्च ?