सानदार सरकारी कार्यालय, झट्ट हेर्दा तारे होटल भन्दा कम देखिँदैन !

काठमाडौँ – झट्ट हेर्दा ठूलै कम्पनीको ‘कर्पोरेट हाउस’जस्तो । तारे होटलजस्तै पनि देखिने । नझुक्किनु है, यो भवन सरकारी कार्यालयको हो, त्यो पनि वन कार्यालय । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

उदयपुर कटारीस्थित डिभिजन वन कार्यालय यस्तै आधुनिक देखिन्छ । कुनै तारे होटलभन्दा कम छैन । यही कारण पनि यस क्षेत्रकै आकर्षणको केन्द्र बनेको छ, वन कार्यालय ।

घर होस् वा अफिस, सजावट आजको प्रमुख आवश्यकता हो । बदलिँदो जीवनशैलीसँगै सजावटले पनि व्यापकता लिन थालेको छ । आईएनजीओ वा एनजीओको मात्र नभएर सरकारी कार्यालयसमेत आकर्षण केन्द्र बनाइँदै छ ।

सजावटमा विशेष अभिरुचि र बढ्दो मागसँगै फर्निसिङ तथा इन्टेरियर डिजाइनिङसँग सम्बन्धित कम्पनीले परामर्श प्रदान गर्ने चलन बाक्लिन थालेको छ । ग्राहकको ध्यान केन्द्रित गर्न सिर्जनशील हुनैपर्ने डिजाइनर बताउँछन् ।

आफ्नो कार्यालय भवन बनाउन ५ करोडभन्दा बढी खर्च भएको डिभिजन वन कार्यालय उदयपुर (त्रिवेणी)का डीएफओ विष्णुलाल घिमिरे बताउँछन् । तीनतले भवनमा १८ कोठा छन् ।

प्राकृतिक वन सम्पदाको दृष्टिले धनी उदयपुर जिल्ला करिब ६० प्रतिशत वनजंगलले ढाकेको छ । दक्षिणतर्फ चुरे, उत्तरतर्फ महाभारत शृंखलासम्म फैलिएको छ ।

कुल वनको महाभारत वन क्षेत्र ५२ प्रतिशत र चुरे वन क्षेत्र ४८ प्रतिशत छ । यो कार्यालयमा आधुनिक सुविधा हुनुका साथै लिफ्टसमेत जडान गरिएको छ । फरक क्षमता भएका, अपांगमैत्री कार्यालय बनाउन लिफ्ट राखिएको डीएफओ घिमिरे सुनाउँछन् ।

अपांग भएका व्यक्तिलाई सरकारी कार्यालय जान समस्या हुने देखेरै प्रदेश १ सरकारले नयाँ कार्यालय लिफ्टसहित बनाउने निर्णय गरेको छ । जिल्लाको पहिलो लिफ्ट कार्यालय रहेकाले पनि सेवाग्राहीको आकर्षण बनेको छ, वन कार्यालय ।

जिल्लामा दुईवटा डिभिजन वन कार्यालय छन् । डिभिजन वन कार्यालय उदयपुर (त्रिवेणी)ले कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिमचुड. गाउँपालिका र रौतामाइ गाउँपालिका हेर्ने गर्छन् ।

मध्यपहाडी राज्य मार्गको बाटोमा पर्ने भएकाले पनि बाटो हिँड्ने जोकोहीको नजर एकपटक यो कार्यालयमा पुग्ने गरेको छ । ‘यो कार्यालयको आकर्षणसँग टाढा रहन सकिँदैन,’ पर्यावरण अभियानी सुरेश शर्मा भन्छन् ।

पछिल्लो समय क्रयशक्ति बढ्दै गएको छ । उपभोग्य क्षमतामा विस्तार र आवश्यक वस्तु विश्वका जुनसुकै कुनाबाट ल्याउन सकिने भएकाले ‘घरअफिसको कुशल र आकर्षक डिजाइन र सजावटमा ध्यान दिन थालिएको’ जानकार बताउँछन् ।

पछिल्लो समय घर बनाइसकेपछि ‘इन्टेरियर डिजाइन’ खोज्ने चलन पनि छ । डिजाइनरले ‘फ्लोर स्पेस’अनुसार राम्रो हुन थालेपछि बजारमा बढी माग हुन थालेको छ ।

सेवाग्राही आफू बस्ने कोठा मात्र नभई किचन, बाथरुम, घरको बरन्डा, बगैंचा पनि सजाउन खोज्छन् । डिजाइनरको व्यक्तिगत घर मात्र नभई कर्पोरेट हाउस, हस्पिटल, रेस्टुराँजस्ता क्षेत्रमा पनि माग बढ्न थालेको छ ।

इन्टेरियर डिजाइनका लागि पूर्वयोजना नै बनाउनुपर्छ । आवश्यक डिजाइन मिलेको खण्डमा धेरै डेकोरेसन आवश्यक नै नपर्न सक्छ । सामान सही व्यवस्थापन हुनेगरी डिजाइन गरिएको आन्तरिक सजावटले जीवन सहज एवं आकर्षक बन्छ ।

प्रकाशित : शनिबार, असोज ०१, २०७९०७:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरा उता विदेशमा बिते, बुहारी क्षतिपूर्तिको सत्ताइस लाख लिएर ‘टाप’ कसेपछि बिचल्ली !