काठमाडौँ – नेपालगन्जबाट जुम्ला जाँदै गरेका चालक हरिबहादुर कार्की राजमार्गमा ‘कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु’ दिनहुँ देखिरहेका हुन्छन् । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ,’ उनी भन्छन्, ‘भगवान्को नाम जपेर यात्रा गर्नुपर्ने डर लाग्दो अवस्था छ ।’
सामान्यत एक दिनको यो बाटो पार गर्न वर्षात्का बेला कालिकोटबाट नेपालगन्ज पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘कालिकोटबाट सुर्खेत पुग्नै तीन दिन लाग्छ,’ कार्की भन्छन्, ‘वर्षामा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्छ ।’
कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्सीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन्,’ कार्की दुःखेसो पोख्छन्, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? केही थाहा छैन ।’
त्यसो त, सवारीचालक कार्की मात्र होइन, राजमार्गमा यात्र गर्ने यात्रु सुनिनसक्नुसम्मका पीडा सनाउँछन् । ‘ट्र्याक’ खुलेको भएको डेढ दशक पुग्दासमेत सडकको अवस्था सुधार हुन नसकेको तिलागुफा नगरपालिका–६ जुविधाकी उर्मिला शाही बताउँछिन् ।
‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले असाध्यै दुःख पाएका छन्,’ घरैछेउको राजमार्ग दिनहुँ नियाल्दै आएकी उर्मिला भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति भए कर्णालीका जनताले सुख पाउँथे कि ?’
आँखाअगाडि सडकछेउमा गाडी झुन्डिएका सबैले देखेका छन् तर आफूहरूले ‘भोट दिएर माथि पुगेका मन्त्रीले अझै नदेखेको’ उर्मिलाको भनाइ छ । उनी भन्छिन्, ‘भगवान् भरोसामै यात्रा गर्न बाध्य छौं ।’
०००००००
राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ ।
कालिकोट सडकखण्डको सुनारखोला, टाकुल्ला, सेरिघाट पिली क्षेत्रमा यात्रु सास्ती बेहोर्दै दुर्घटनाको उच्च जोखिम मोलिरहेका छन् । पुलमा पहिरो खसिरहेको छ । पहिरोले पुल दायाँबायाँ क्षति पु-याउन थालिसक्यो ।
कर्णाली विकासको मेरुदण्ड मानिएको राजमार्ग सुर्खेत–जुम्ला सडक कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड २ सय ३२ किलोमिटर छ ।
नागरिकका दुःखबारे स्थानीय, प्रदेश तथा संघीय सरकारलाई थाहै छ तर पनि नागरिकता बाध्यता र समस्याप्रति तीनवटै सरकारको गम्भीर ध्यान जान सकेको छैन ।
यात्रैपिच्छे दुःख भोग्नुपरेको खाँडाचक्र नगरपालिका–५ का सर्पानन्द्र चौलगाईं सुनाउँछन् । ‘नागरिकनजिक स्थानीय सरकार छ, त्यसले नै हाम्रा दुःख नजिकबाट बुझ्नुपर्ने हो, त्यो देखिएन,’ चौलगाईं भन्छन्, ‘कर्णालीजस्तो विकट भूगोल, गुणस्तरहीन सडक स्तरोन्नतिमा प्रदेश र संघ सरकारले समेत प्राथमिकतामा राख्न सकेका छैनन् ।’
कर्णाली राजमार्गमा ‘मै हुँ’ भन्ने नेताले स्थलगत यात्रा गरे पनि स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन गरेका छैनन् । निर्माण व्यवसायीले समेत समयमै कार्य सम्पन्न नगर्नुले यात्रु सास्ती भोग्न बाध्य छन् । संघीय एवं प्रदेश संसद्मा ‘धेरै कुरा’ उठे पनि कुनै पहल गरिएको छैन ।