जय नेपालमुनि टुकुचा, दायाँबायाँ सडक कोरिडोर बनाउने योजना !

काठमाडौं । राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल हल प्रांगणमा उत्खनन् क्रममा टुकुचा फेला पारेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो । सूचनाअनुसार ‘कसैले पनि संरचना नहटाएपछि महानगर आफैं टुकुचा खोजीका लागि डोजर’सहित फिल्डमा उत्रेको हो ।

एक महिनायता महानगरले ‘अनधिकृत संरचना’ हटाउने अभियान जारी राखेको छ । खोला अतिक्रमणमुक्त बनाउने र दायाँबायाँ सडक कोरिडोर बनाउनेगरी बिहीबारदेखि अभियान चुस्त बनाइएको छ ।

टुकुचा खोला पुरेर त्यसमाथि वर्षौंदेखि भवनलगायत संरचना बनाइएका छन् । महानगर टोली टुकुचा खोज्ने क्रममा डोजरसहित जय नेपाल हल प्रांगण पुगेको हो ।

टोलीले नक्साअनुसार गरेको ‘मार्किङ’ आधार बनाएर डोजर चलाउँदा हल परिसरमा १५ फिट खनेपछि टुकुचा खोला फेला परेको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा सो क्षेत्रमा पुग्दा ‘गायब’ बनाइएको छ ।

स्थानीय तथा सम्पदा संरक्षक क्षेत्रका अभियन्ताले ‘टुकुचा खोला पुरेर घर भवन बनाएको’ भन्दै टुकुचा संरक्षण गर्नुपर्ने माग उठाउँदै आएका छन् ।

महानगर प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले ‘टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ कोरिडोर बनाउने’ योजना रहेको बताए । उनका अनुसार टुकुचामा पानी बग्न चार मिटर छाडिने र बाँकी दायाँबायाँ चार÷चार मिटरको करिडोर बनाइनेछ ।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९०६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जय नेपाल हलमा डोजरको ट्रेलर, टुकुचा लुकेर होइन खुलेर बग्ने भयो !