काठमाडौँ – कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ‘झारा टार्न’ भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको भेटमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले बिहीबारदेखि नै सीमा नाका खोल्ने बताएका छन्। नाका बन्द गर्दा अन्तर्राष्ट्रिय रूपमा गलत सन्देश गएकाले चीनले नेपाल आउन मालसामान बोकेर हिँडेका तर चिनियाँ भूमिमै रोकिएका कन्टेनर छाड्न नाका खोल्न लागेको हो।
ट्रान्जिटमा रोकिएका सामान मात्र पठाउनेगरी चीनले बिहीबारदेखि नाका खोल्न लागेको जानकारी अनौपचारिक रूपमा भन्सारका अधिकारीलाई आएको छ। चिनियाँ पक्षले ट्रान्जिटमा रोकिएका सामान पठाउने भन्ने सूचना आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए। ‘अहिले रोकिएका सामान मात्र पठाउने भन्ने सूचना आएको छ,’ उनले भने, ‘बिहीबारबाट चीनतर्फ रोकिएका गाडी छुट्छन्।’
चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनर छाडेर मात्र पठाएर समस्याको समाधान नहुने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। नाका बन्द गर्दा गलत सन्देश गएकाले झारा टार्न रोकिएका सामान पठाउन मात्र नाका खोल्नु दुःखद भएको ती अधिकारीले बताए। ‘चीनले विभिन्न बहाना बनाएर नाका बन्द गर्दै आएको छ,’ ती अधिकारीले भने, ‘अहिले झारा टार्नेगरी नाका खोलेर रोकिएका सामान पठाउने भनेको छ।’ चिनियाँ जनकंग्रेसका अध्यक्ष ली नेपाल आएपछि तातोपानी नाकाबाट लसुन र स्याउ आएको तातोपानी भन्सारका अधिकृत लक्ष्मण बास्तोलाले बताए। ‘अहिले बाटोमै रोकिएका सामान मात्र छाड्ने भनिएको छ,’ उनले भने।
चीनले दुई मुलुकबीचका प्रमुख व्यापारिक नाका तातोपानी–खासा र रसुवागढी–केरुङ बन्द गर्दा नेपाली व्यवसायी ठुलो मर्कामा परेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार भूपेरिवेष्टित मुलुकलाई पारवहन सुविधामा अवरोध गर्न नपाइने भए पनि चीनले विभिन्न बहाना बनाएर बन्द गर्दै आएको छ।