काठमाडौँ – जबर्जस्ति करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने अझै नेपाल आइपुगेका छैनन्। बलात्कारको आरोप लागेपछि आइतबार नै नेपाल आउने घोषणा गरिसकेपनि लामिछानेको अझै अत्तो-पत्तो छैन।
शुक्रबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएपनि त्यसपछि न त उनी प्रहरीको सम्पर्कमा आएका छन्, न त क्यानकै सम्पर्कमा छन्।
लामिछानेमाथि एक १७ वर्षीया नाबालिगलाई सिनामंगलस्थित होटलमा राखेर बलात्कार गरेको आरोप लागेको छ। नाबालिगले भदौ २१ गते नै प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि गत शुक्रबार लामिछानेले सामाजिक संजाल मार्फत कानुनको सम्मान गर्ने र नेपाल आएर आरोपको सामना गर्ने बताएका थिए।
लामिछानेले नेपाल आउने घोषणा गरिसकेको एक साता पुग्न लाग्दा पनि उनी अझै नेपाल आइपुगिसकेका छैनन्। प्राप्त खबरका अनुसार नेपाल आइपुग्ने बितिकै पक्राउ पर्ने डरले लामिछाने यति बेला विदेशमै रहेर कानुनी परामर्श लिरहेका छन्।
नेपाल आउनेबित्तिकै पक्राउ पर्ने डरले उनी विदेशबाटै नेपालका केही वरिष्ठ कानुन व्यवसायीसँग परामर्शमा रहेका प्रहरीको अनुमान छ। लामिछाने विरुद्ध पक्राउ पुर्जी भइसकेको छ।