एमालेका ‘हेभिवेट’लाई नै टिकटमा तगारोको डर, १० भाइलाई समस्या नै समस्या !

काठमाडौं । आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको समयमा माधव नेपाल समूहमा लागेर आफूलाई असहयोग गरेका १० नेतालाई सहज रुपमा टिकट नदिने संकेत गर्नुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर विवादमा आएका ओलीले आफ्नो कदमप्रति विरोध गर्दै संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालत गएका र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मतदान गरेका १० भाइलाई ओलीले चुनावी मैदानमा समेत हेर्ने नजर फरक भएको एमालेका एक नेताले बताए ।

ती नेताले भने– ‘कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन र माधव नेपाललाई साथ दिएर पार्टी विभाजनमा ‘अप्रत्यक्ष भूमिका निर्वाह गरेका’ नेतालाई ओलीले टिकट वितरणमा सर्त तेस्र्याउने तयारीमा हुनुहुन्छ ।’ पार्टीका पदाधिकारी रहेका भए पनि पार्टी हितविपरीत गुटबन्दी गरेर आफ्नै सरकार ढाल्न भूमिका खेलेका नेताहरुलाई सहजै टिकट दिन हुन्न भन्ने पक्षमा अध्यक्ष रहनुभएको उनको भनाइ छ ।

पार्टीको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेर पार्टी विभाजनका सहयोग पु¥याएको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल, रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावल र यज्ञराज सुनुवारप्रति अध्यक्ष ओली सन्तुष्ट हुनुहुन्न । यी नेताहरुले आत्मालोचना गर्नुपर्ने ओलीले जनाउ दिइसक्नुभएको छ । तर एक जना उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट पछि हटेको जनाए पनि अरु नेताहरु प्रत्यक्ष चुनाव लड्न चाहन्छन् ।

माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएपछि मूल पार्टीमै रहेका १० भाइ नेतालाई पार्टीका कार्यकर्ताले समेत हेर्ने दृष्टिकोण फरक रहेको नेताहरुको भनाइ छ । पार्टीको नेतृत्वप्रति असन्तुष्टि राखे पनि आफ्नो घरै भत्काउने काम गरेका नेताहरुले आगामी मंसिरमा हुने निर्वाचनमा टिकट प्राप्त गर्नका लागि गल्ती कुरालाई आत्मालोचनासहित आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता पेस गर्नुपर्ने सम्मको अवस्था आउनेछ । धनश्याम भुसालले त पछिल्लोपटक समेत पार्टीको हितविपरीत विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिएर र लेखहरु लेख्दै हिँडेको आरोपमा ओलीलाई स्पष्टीकरणसमेत दिइसक्नुभएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका रूपमा जिल्ला र प्रदेश तहबाट सिफारिस भइसकेका नेताहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावल, यज्ञराज सुनुवारलाई केन्द्रबाट उम्मेदवारको औपचारिक निर्णय हुनुपूर्व ओलीले आत्मालोचना गराउन खोजेको एक नेताले बताए । विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा आफूले गरेका कामको विरोधलाई ओलीले पार्टीभित्रको अनुशासन उल्लंघनका रुपमा लिनुभएको छ ।

पार्टीमा अनुशासनहीनता र अराजकतालाई बढावा दिन नसकिने ओलीले सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । संसद् पुनस्र्थापनाको पक्षमा उभिएका नेताहरुलाई इङ्गित गर्दै ओलीले भन्नुभएको छ– ‘हरेक चीज लयमा चलेको छ, हिजो चलिएन होला, हिजोका गल्ती सच्याएर फेरि लयम चल्ने प्रतिबद्धता हुनुपर्छ ।’ अब लयमा चल्ने प्रतिबद्धता हुन्छ भनेर भन्न उहाँहरू किन डराउनुभएको भनेर ओलीले प्रश्नसमेत गर्नुभएको छ ।

फेरि आफ्नै सरकार ढाल्न नै संसद्मा आउन खोज्नुभएको हो  भने एमालेभित्र ठाउँ नभएको समेत अध्यक्ष ओलीले सोमबारको एक सार्वजनिक कार्यक्रममा बोल्नुभएको छ । तर नेतृत्वबाट यस्तो हुन गएमा पार्टीलाई ठूलो क्षति हुने नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले बताउनुभयो । ‘आधिकारिक रुपमा नेतृत्वबाट त्यस्तो कुरा आएको छैन्’, उहाँले भन्नुभयो– ‘अध्यक्ष भनेको सिंगो पार्टीको अभिभावक भएकाले सबैलाई समान व्यवहार गर्ने कुरामा विश्वस्त छु, यदि त्यस्तो भयो भने पार्टीमा गम्भीर क्षति निम्तन्छ ।’

प्रकाशित : बुधबार, भदौ २९, २०७९०८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रपति समस्याबाट नभाग्ने, कुनै हालतमा राजीनामा नदिने !