जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनको प्रचारप्रसारका क्रममा सोमबार जनकपुर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्यहाँ कालो झण्डा देखाएर विरोध गरिएको छ । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीलाई केही व्यक्तिले कालो झण्डा देखाएका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
ओलीलाई कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागरिकता विधेयकको विषयलाई लिएर ओलीलाई कालो झण्डा देखाइएको हो । जनकपुर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा क्याम्पस चोकमा उनलाई कालो झण्डा देखाइएको थियो ।
तर, अध्यक्ष ओलीले भने आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेको व्यक्तिलाई तत्काल रिहा गर्न स्थानीय प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । अध्यक्ष ओलीले गलत सूचनाका आधारमा उनीहरू आफूलाई कालो झण्डा देखाएको भन्दै तत्काल रिहा गर्न आग्रह गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका ओलीलाई त्यहाँ २ सय ५ किलोको माला लगाएर नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । उक्त कार्यक्रममा अध्यक्ष ओलीले जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्यहरू रुही नाज, अञ्जुकुमारी यादव, रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्वजिल्ला उपसभापति सन्तोष यादवलगायतलाई एमालेमा प्रवेश गराएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नागरिकता विधेयक यथास्थितिमा पारित गर्नु नहुने धारणा व्यक्त गरे । ओलीले संसद्को दुबै सदनबाट पारित भई प्रमाणीकरणका लागि हाल राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष रहेको नागरिकता विधेयकमा धेरै प्रावधान गलत रहेको बताए ।
उनले नागरिकता विधेयकमा थुप्रै कुरा सच्याइनुपर्ने धारणा पनि ब्यक्त गरे । ‘संसद्मा छलफल गर्न नदिने । राष्ट्रपतिको सुझाव पनि नमान्ने । विचार गरौँ भन्दा छलफलै नगरी बहुमतको बलमा राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्न मिल्छ ? बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइएको छ’, अध्यक्ष ओलीले भनेका छन् ।