जसरी हुन्छ गठबन्धन फुटाउने दाउमा ओली !

काठमाडौं । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले सम्भावित उम्मेदवारहरूले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

आइतबार बसेको बैठकले सिट बाँडफाँटको विषय नटुंगिएपछि सोमबार पुनः बैठक बस्ने गरी सकिएको एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । छलफल गरेर निष्कर्षमा पुग्ने भनिए पनि आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्रै पेस गरिएको खनालले जानकारी दिनुभयो ।

बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको उहाँको भनाइ छ । ‘कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा रिपोर्टिङ भयो’, खनालले भन्नुभयो– ‘सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने र सिट बाँडफाँटको टुंगो लगाइनेछ ।’

तर, लामो समयदेखि सिट बाँडफाँटको मापदण्डमै शीर्ष दलका नेताहरू अल्झिएका कारण अहिले नै मिल्ने कुरा शंकाको घेरामा छ । छलफलको शुरूवातीमै नेपाली कांग्रेसले सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । उक्त बटमलाइनबाट कोही पनि पछि हटेका छैनन् । गठबन्धन दलहरूबीच २०७४ मा जुन दलले जितेको त्यसैलाई छाड्ने र एमालेले जितेका क्षेत्रमा भागबण्डा गर्ने गरी कांग्रेसबाहेकका दलहरूको धारणा छ ।

तर, अघिल्लो निर्वाचनमा एमाले–माओवादी केन्द्रको चुनावी तालमेल भएको र माधव नेपाल समूहसमेत एमालेमै भएकाले धेरै ठाउँहरू जिते पनि यसपटक माओवादी–नेकपा एकीकृत समाजवादीको सांगठनिक अवस्था राम्रो नभएकाले जित निकाल्न मुस्किल पर्ने नेताहरूले बताएका छन् । यसरी भागबण्डा गर्दा गठबन्धनको परिणाम कमजोर हुने कुरालाई ख्याल गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताउनुभयो ।

गठबन्धनलाई परिणाममुखी बनाउने हो भने दलहरूले आफ्नो संगठनको अवस्था हेरेर सिट बाँडफाँटमा सहमति गर्नुपर्ने उहाँको भनाइ छ । २०७४ को समानुपातिक भोट र २०७९ मा आएको वडा अध्यक्षको भोटलाई आधार मानेर गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेको खतिवडाले जानकारी दिनुभयो । ‘सम्भवतः यही मापदण्डका आधारमा सिट बाँडफाँट हुन्छ, एक दुई दिनमै टुंग्याउने कसरत भइरहेको छ’ –उहाँले भन्नुभयो ।

गठबन्धन फुटाउने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिखेर सत्ता गठबन्धनलाई कसरी फुटाउने भन्ने नीतिमा लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बाम गठबन्धनका लागि अझै ढोका खुला राखेको संकेत दिनुभएको छ । यसले गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) लगायत बामपन्थी दलहरूको सिट बार्गेनिङ बढाउन सहयोग पुगेको छ ।

मङ्सिर ४ को निर्वाचनको तयारीसँगै रणनीति तय गर्ने क्रममा ओलीले अहिलेको गठबन्धन निर्वाचनको केही साता अघिसम्म भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वाम गठबन्धनको ढोका खुलै राखेर अघि बढ्ने चुनावी रणनीति बनाउनुभएको हो । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका केही नेताले त्यसलाई अवरोध गरिरहेका छन् । एमालेमा पनि दोस्रो तहका नेताहरू सिट खोसिने डरले गठबन्धन नभइदिए हुने पक्षमा रहेको स्रोतको दाबी छ ।

तत्काल एमालेको नेतृत्वमा अर्को गठबन्धन बनाउने निर्णय गरिनसकेको तर सम्भावित विकल्पलाई खुला राख्ने भन्दै ओली पाँच दलीय सत्ता गठबन्धनप्रति आक्रामक बन्नुभएको छ । ओलीले पार्टीको आन्तरिक रणनीतिमा भन्नुभएको छ– ‘सत्तारूढ गठबन्धन तोड्नुपर्छ, अर्को गठबन्धन गर्नुपर्छ भनेर गीत गाउने विषय होइन, झ्याली पिटाउने पनि होइन ।’ सिद्धान्तविहीन, पहिचानविहीन र नीतिविहीन गठबन्धनले उद्देश्य हासिल गर्न नसक्ने ओलीको तर्क छ ।

प्रकाशित : सोमबार, भदौ २७, २०७९०८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक दर्जन सरकारीसहित ३४ निकाय कामपाको नजेरमा !