काठमाडौँ – अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फिल्म खेलाउने भएका छन्। लामो समय देखि कलाकारिता क्षेत्रमा रहेका केसीले पूर्वप्रधानमन्त्री ओलीलाई चलचित्रमा अभिनय गर्न लगाउने तयारी गरेका हुन्।
केसीका अनुसार ओलीलाई खेलाउने चलचित्रको स्क्रिप्ट तयार हुँदैछ। चलचित्रको स्क्रिप्ट लेख्ने कार्य चलिरहेको केसीको भनाई छ। स्क्रिप्ट सकिए लगतै ओलीलाई स्क्रिप्ट देखाउने र चलचित्र अफर गर्ने केसी बताउँछन्।
ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने तयारीमा आफू रहेको केसीले बताए। ओलीसँग दुई दिनको समय माग्ने र चार–पाँचवटा दृश्य खिच्ने केसीको योजना छ। चलचित्रमा काम गरेवापत ओलीले १० लाख पारिश्रमिक पाउनेछन्।
ओलीले हार्मोनियम, गितार बजाउने कलादेखि कलाकारमा हुने सम्पूर्ण गुण भएको र आफ्नो फिल्मको एउटा पात्र ओलीका लागि ठिक हुने केसीले बताए। ओलीले आफ्नो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहे पनि मनाउन भरपुर प्रयास गर्ने पक्षमा केसी रहेका छन्।