सांसदबाट लिङ्देनले दिए राजीनामा, एक्लो होइन धेरै सांसद लिएर फर्किने घोषणा !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन्।

सांसद पदबाट राजीनामाको घोषणा गरे। सभामुख अग्निप्रसाद सापकोटाले दिएको पाँच मिनेटको विशेष समयमा उनले रोस्टममै गएर संसदलाई अन्तिम सम्बोधन गर्ने चाहना व्यक्त गरे। लिङ्देनको आग्रह अनुसार नै उनलाई रोस्टममा गएर सम्बोधन गर्ने अनुमति सापकोटाले दिए।

संसदलाई सम्बोधन गर्नेक्रममा उनले संसदको म्याद चुनावपछि सम्म लम्ब्याउने काम अनैतिक भएको बताए। पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उनले सुनाए।

“संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन। प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।”,लिङ्देनले भने।

लिङ्देनले बाटोबाटै संसद छाडेर जान उपयुक्त नहुने हुँदा संसदमै आएर राजीनामाको घोषणा गरेको पनि बताए। अबदेखि सांसदको रुपमा आफू उपस्थित नहुने उनको भनाई छ। लिङ्देनले आफ्नो नामको तलब भत्ता सुविधा रोक्का गर्न पनि आग्रह गरे।

उनले भने,”म यहीँबाट भन्छु आजबाट सांसदका रुपमा यहाँ उपस्थित हुने छैन। सभामुख महोदय र सचिवालयलाई आग्रह गर्दछु मेरो नाममा तलब भत्ता सुविधा रोक्का गरियोस्। मैले अब निवेदन दिनुपर्ने भए म निवेदन दिएर बाहिरिन्छु।”

त्यस्तै उनले आउने निर्वाचन पछि आफू एक्लो सांसदको रुपमा संसदमा नआउने प्रण पनि गरेका छन्। उनले आउने निर्वाचन पछि थप सांसदहरु सहित संसदमा प्रवेश गर्ने घोषणा गरे।

प्रकाशित : आइतबार, भदौ १९, २०७९१५:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुरक्षा गार्ड पक्राउ प्रकरण: मन्त्रीले खानु गाली खाएपछि मुख खोले !