काठमाडौँ – युक्रेन र रुसबीचको युद्धका कारण उच्च दरमा बढेको खानेतेलको भाउ पछिल्लो समय सस्तिएको छ । खानेतेलको मूल्य पछिल्लो दुई महिनाको अवधिमा प्रतिलिटर १० देखि ७० रुपियाँसम्म सस्तिएको छ ।
भारत निर्यात रोकिएकाले स्वदेशमै खपत बढाउन उद्योगीले मूल्य घटाएको खाद्य किरानाका खुद्रा तथा थोक व्यापारीले बताएका छन् । किराना तथा थोक व्यवसायी सङ्घका महासचिव आमूलकाजी तुलाधरले खानेतेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले नै मूल्य घटाएर भए पनि बिक्री गर्न बाध्य भएको बताउनुभयो ।
नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार हाल भुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपियाँ, काँचो तोरीको तेल प्रतिलिटर ३७० रुपियाँ, सनफ्लावर प्रतिलिटर २९० रुपियाँ र भटमासको प्रतिलिटर २६० रुपियाँमा खुद्रामा कारोबार भएको छ ।
छैन चिनी
सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै छलफल नभएको दाबी गरेको छ । मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको छ तर यसको प्रक्रिया अहिलेसम्म अगाडि बढेको जानकारी छैन भन्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पाेरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ५० हजार टन चिनी खरिद गर्न गत जेठमै अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो तर वाणिज्य मन्त्रालयबाट चिनी खरिद स्वीकृति मागको फाइल कहाँ र कोसँग छ भन्ने नै पत्ता नलागेको भन्दै गैरजिम्मेवार जवाफ आएको छ ।
