काठमाडौँ – अघिल्लो विहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काउन गएका मेयर बालेन्द्र साह आक्रोशमा आएपछि सञ्चालकले ‘डन’ जस्तै व्यवहार किन गरेको भने। ‘डन हो कि क्या हो ? बालेनसँगको चर्काचर्कीपछि सञ्चालक द्विराज शर्माले सञ्चारकर्मी माँझ प्रश्न समेत गरे। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
शर्माले बालेनलाई ‘डन’ भनेकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अल्फाबिटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा साहले नक्सा देखाउँदै गरेको तस्बिर राख्दै ‘वेल डन’ भन्दै ट्विट गरे।
मेयरको चुनावताका ‘बाहुबली’ उपनामसमेत पाएका बालेनको नेतृत्वको महानगरको टोलीले अनधिकृत संरचना भत्काउने क्रम बढाउँदै जादा शर्मा र भट्टराईले मात्र हैन, थुप्रैले उनका बारेमा टीकाटिप्पणी गरेका छन्। उनले गरेका काम र लेखेका स्टाटसहरू सामाजिक सञ्जालमा क्षणभरमै भाइरल हुने गरेका छन्।
कतिपयले त उनको कामलाई हिन्दी सिनेमा नायकसँग पनि जोडे। सन् २००१ मा निर्मित भारतीय सिनेमा ‘नायक’मा एक दिनका लागि मुख्यमन्त्री बनेको कलाकार अनिल कपुरको अभियन निकै हिट भएको थियो। त्यसकै झल्को दिनेगरी यति बेला काठमाडौं महानगरका मेयर बालेन साह अवैध संरचना हटाउन दिनरात लागिपरेको भन्दै उनलाई ‘आजका नायक ’ भन्ने पनि कमी छैनन्।
‘उनको काम हेरेपछि मैले यसै साता फेरि नायक सिनेमा हेरें,’ सामाजिक सञ्जालमा रत्न सुवेदी लेख्छन्, ‘एक दिनको मुख्यमन्त्री बनेका नायक अनिल कपुरजस्तै लाग्न थालेको छ हामीलाई हाम्रो मेयर पनि।’
सोमबारबाट सुरु भएको अवैध संरचना भत्काउने महानगरको अभियानले रोकिने नाम लिएको छैन। साना टहरादेखि ठूला बिल्डिङसम्म उनको निशानामा परेका छन्। सरकारी कार्यालयदेखि जिल्ला अदालतसम्म उनले जानकारी माग्न भ्याएका छन्। पछिल्लो समयमा राजधानीका ठुला व्यापारिक भवनमा निशाना साँधेका महानगरका टोलीले बेसमेन्ट खाली गराउनुका साथै नक्सापास विपरीत बनेका अवैध संरचना भत्काउँदा व्यवसायी भने निकै निकै आक्रोशित छन्।
‘हामी कर तिरेर आएका छौं, हामीले पनि केही समय पाउनुपथ्र्याे,’ सुरज आर्केड व्यवसायी संघका अध्यक्ष हेम स्वारले भने, ‘तर व्यवसायीलाई अत्याउने ढंगबाट डोजर चल्न थालेको छ ।’ राज्यको नियम आफूहरू मान्न तयार भएको तर समय चाहिने उनको भनाइ थियो।
स्वतन्त्र बालेनको पक्षमा फरक दलका फरक धारणाभन्दा पनि एकै दलभित्र पनि पक्ष र विपक्ष देखिन थालेको छ। दलहरूका नेता कार्यकर्ता उनको पक्ष विपक्षमा विभाजित भएका छन्। काठमाडौंमा अवैध संरचना भत्काउन डोजर लिएर आफै पुगेपछि चर्चामा आएका काठमाडौं महानगरका मेयर बालेन्द्र साहबारे कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरे।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्तिसमेत जनाए।
तर उनकै पार्टीका नेता चन्द्र भण्डारीले भने बालेनको कार्यको समर्थन गर्दै अनधिकृत संरचनामा मात्र हैन, अब नेपालको राजनीतिमा पनि डोजर चलाउनु पर्ने बताए ।राजधानीका अनधिकृत संरचना भत्काउँदै आएका बालेनको विपक्षमा निकै कडा अभिव्यक्ति दिँदै आएका एमाले सांसद महेश बस्नेतलाई समेत एक कार्यक्रममा सम्झाउँदै उनले नियम विपरीत बनेका संरचना भत्काउनै पर्ने बताए।
एमालेका सांसद महेश बस्नेतले बालेनलाई कहिले डोजर चलाउने रहर भए ड्राइभिङ सिकेर आउन त कहिले विकास हेर्ने भए भक्तपुर आउन भन्दै नक्सा पासको बहानामा डोजर नचलाउन भनेका छन्। बालेनका समर्थकले बस्नेतलाई सामाजिक सञ्जालमा निकै गाली गरेपछि बस्नेतले फेरि बालेनको विपक्षमा निकै कटु टिप्पणी गरे।
