द्वन्द्व रोकिएर शान्ति फर्कियो, तर फर्केनन् श्रीमान !

काठमाडौँ – रोल्पा नगरपालिका ८ जंकोटकी ५२ वर्षीया पुनिकला बिकका पति बेपत्ता भएको २३ वर्ष भयो। पुनिकलाका अनुसार माओवादी नेता वर्षमान पुनको छिमेकी गाउँका नन्दबहादुर बिक वर्षमानसँगै हिँड्थे। पुनिकलाका पति बेपत्ता हुँदा दुई छोरा जन्मिएका थिए भने छोरी गर्भमा थिइन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

२०६३ सालमा देशमा शान्ति सम्झौता भयो। द्वन्द्व रोकेर शान्ति फर्कियो, तर नन्दबहादुर फर्केनन्। जिल्लाका द्वन्द्वपीडित तथा केही गैरद्वन्द्वपीडितले समेत कागज मिलाएर राहत बुझे तर पुनिकलाले कुनै अवसर पाइनन्। भएको सम्पत्ति सबै पतिका नाममा छ। यतिबेला पुनिकला राहत र न्यायभन्दा पनि आफ्नै जग्गा आफ्नो नाममा नामसारी मात्र गर्न पाए पनि हुन्थ्यो भन्ने अपेक्षामा छिन्।

‘राहत पनि पाइएन। छोराहरूले अंश माग्न थालेका छन्। छोरीलाई पढाउनु छ, तर जग्गा चलाउन पाएको छैन’, पुनिकला भन्छिन्, ‘जोडाबिनाको यत्रो वर्ष कति दुःखमा बिताए त्यो मलाई मात्र थाहा छ।’ कुनै समय प्रचण्डले भनेजस्तो सुकिला–मुकिला मान्छे देख्दासमेत बोल्न नसक्ने पुनिकलाले आफ्नो दुःख कहिल्यै कसैलाई सुनाउन सकेकी छैनन्।

पहिलेका जस्तै भर्खरै सकिएको चुनावमा भोट माग्न गाउँ छिरेका सबैलाई पुनिकलाको अवस्था जानकारी थियो, तर कसैले उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्म पनि डो¥याउन चासो दिएनन्। यतिबेला पुनिकला वडा कार्यालयमा जग्गा नामसारीका लागि धाउँदै छिन्। ‘सरकारले मृत्यु दर्ता पनि गरिदिन्न मान्छे पनि खोजी गर्दैन। जोडाबिनाको जीवन कस्तो हुन्छ भन्ने हामीलाई मात्र थाहा छ।’

माओवादीका जिल्लास्तरका नेताका अनुसार नन्दबहादुर युद्धमा हिँडेका हुन्, तर शान्ति–सम्झौतापछि कसैले उनको खोजी नगर्दा पुनिकलाले पाउनैपर्ने राहतबाट वञ्चित भएकी हुन्। अदालतमा गएर मृत्युको न्यायिक घोषणाका लागि निवेदन दिनसमेत मेसो नपाउने पुनिकला यतिबेला बेसहारा बनेकी छन्।

२०५८ साल असारमा आफ्ना पति पत्रकार धनबहादुर रोका बेपत्ता पारिँदा ३० वर्षकी थिइन् दिलकुमारी रोका। जेठी छोरी पवित्रा साढे ३ वर्षकी, छोरा वसन्त २ वर्षको अनि कान्छो रामचन्द्र जन्मिएको १६ दिन मात्र भएको थियो। रोल्पा सदरमुकाम लिवाङदेखि २६ कोस टाढा मिरुलकी दिलकुमारी पति बेपत्ता भएको २१ वर्ष पुग्दासम्म पनि अन्योलमा छिन्।

कसो गर्दा आउँछ कि भन्ने आशा पलाए पनि मनले आउँदैन भन्ने दबाब दिन्छ। ‘खै अब त के आउँथे र ? २०५९ सालमा गाउँलेमार्फत मरिसक्यो भनेर खबर गर्‍या थे। मर्‍यो भन्नु कसैले लास देखेको होइन। आउँछ भन्नु मारिसक्यौं भन्नेहरू सिंहदरबारमा छन् रे’, दिलकुमारी गम्भीर बनिन्।

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार धनबहादुर रोकालाई २०५८ साल असारताका तत्कालीन माओवादीले प्युठानको भिङ्ग्री जलुकेबाट अपहरण गरी लगेपछि जिउँदो त फर्काएनन् नै; लाससमेत दिएनन्। रेडियो नेपालमा मगर खाम भाषाका सहवाचक उनले समाचार उत्पादन र वाचन गर्थे। धनबहादुर २०५८ सालमा कामविशेषले रोल्पा सदरमुकाम लिवाङ आएका बेला कार्य क्षेत्रमा फर्कंदै गर्दा तत्कालीन माओवादीबाट अपहरणमा परेका थिए।

प्रकाशित : मङ्गलबार, भदौ १४, २०७९०८:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेताहरूसँग भेटघाटमा व्यस्त राष्ट्रपति !