महानगर झनै आक्रामक, अवैध संरचना हटाउने अभियान झनै तीव्र !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अघिल्लो सोमबारबाट सुरु गरेको अवैध संरचना हटाउने अभियान झनै तीव्र हुने संकेत देखाएको छ। शनिबार बिदाको दिनसमेत वनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध संरचना हटाएको महानगरको टोलीले आइतबार भोटाहिटी र रत्नपार्क जोडिने ‘अण्डरपास’ मा बनेका अवैध संरचना भत्काएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

‘पहिलो चरणमा हाम्रो करिब तीन सय स्थानमा टार्गेट रहेको छ,’ महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘अवैध संरचना हटाउने हाम्रो अभियान तिव्रताका साथ अगाडि बढ्नेछ।’ धेरैतिरबाट समर्थन मिलेको बताउँदै उनले सहर खुला बनाउने अभियान अब नरोकिने बताए।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले भनेका छन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनाधिकृत निर्माण तथा नक्सापासभन्दा फरक व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ। अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौं।’

यसैबीच महानगरको अभियानमा निस्क्रिय भएको भन्दै आलोचित भएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले गरिरहेको अनाधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन्। आइतबार डंगोलले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै काठमाडौं महानगरले गरिरहेको अनाधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी हुन् ।

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने कार्यलाई मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु,’ उनले लेखेकी छिन्, ‘काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने अजेन्डाप्रति सजग र सचेत रहेको छु।’

प्रकाशित : सोमबार, भदौ १३, २०७९०९:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देश जोगाउन सक्रिय राष्ट्रपति !