दैलेख : होचो कद। सर्टमाथि हातैले बुनेको स्वीटर। त्यसमाथि कोट पाइन्ट। अनि शीरमा ढाका टोपी। खुट्टामा पुरानो च्यातिएको चप्पल। उनी हुन्, ६२ वर्षीय कविराम कामी। आइतबार यही पहिरनमा उनी जिल्ला प्रशासन कार्यालयमा आइपुगेका थिए। उनी निकै खुसी देखिन्थे। उनको मुहारमा बेग्लै चमक थियो। कारण थियो, उनले नयाँ नागरिकताको प्रतिलिपि पाउँदै थिए। नेपाली नागरिकतामा ‘कुकुर कामी’ उल्लेख भएका उनले आइतबार नयाँ नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। उनको नयाँ नागरिकतामा लेखिएको छ ‘कविराम कामी’।
साविक मेहेलतोली गाविस–६, हाल भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविरामले तत्कालिन श्री ५ को सरकार जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए। २०१७ पुस २५ गते जन्मिएका कविरामलाई तत्कालिन समयमा गाउँमा पुगेको नागरिकता टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता थमाएको थियो। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ’।
नागरिकतामा अपमानजनक नाम ‘कुकुर कामी’ लेखेको थाहा पाएपछि उनी पीडामा थिए। सच्याउन प्रयास पनि नगरेका होइनन्। तर, उनको कुरा कसैले सुनेनन्। अन्नपूर्ण पोस्ट्ले साउन १७ गते ‘नागरिकतामा अपहेलित नाम’ शीर्षकमा विशेष समाचार प्रकाशन गरेपछि उनको मुस्कुराउने दिन सुरु भएको हो। साउन २३ गते गृह मन्त्रालयले त्यस्ता नाम सच्याउन ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेसँगै उनले नाम सच्याउन साउन २४ गते नै निवेदन दिएका थिए। ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले सबै प्रक्रिया सकेर नयाँ नागरिकता प्रदान गरेको होे।
‘अब म कविराम भएँ’, सच्चा नाम पाएका उनले खुसी साट्दै भने। गाउँ समाजमा भोग्दै आएको अवहेलना र परिवारबाटै भोगेको हेलाँ अब अन्त्य भएको उनले बताए। ‘त्यतिबेला नागरिकता पाएपछि गाउँ समाजमा सहज हिंड्डुल गर्न अप्ठेरो लाग्थ्यो। कसैले कुकुर भनेर बोलाई पो हाल्ने हो कि भन्ने मनमा डर हुन्थ्यो’, उनले भने, ‘अब शीर ठाडो पारेर हिड्न सक्छु।’ नागरिकतामा कुकुर कामी नाम भएकै कारण छोराछोरी र परिवारले भोगेको विभेद पनि अब अन्त्य हुने कविरामको विश्वास छ। आफ्नै नामको नागरिकता पाउन पनि ३३ वर्ष पर्खिनु परेको बताउँदै कविरामले भने, ‘आजै जन्मिएको महसुस भइरहेको छ।’
