काठमाडौँ – सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेशसिंह साहुले त्यहाँका गणपति त्रिभुवन बिष्टले राशनमा गरेको अनियमिताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो। कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले साहुमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाएर हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्।
‘एसपी विष्टलाई जोगाउन सशस्त्र प्रहरी बल मुख्यालयको कानुन शाखाले साहुलाई हातहतियारको सुचना चुहाएको आरोप लगाएर जागिरबाट बर्खास्त मात्र गरेन उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ,’ स्रोतले भन्यो। तर एसपी बिष्टमाथि भने अहिलेसम्म छानबिन भएको छैन।
उनलाई प्रधानमन्त्री कार्यालयबाटै संरक्षण भएकाले सशस्त्र प्रहरीले आन्तरिक छानबिनसमेत गर्न सकेको छैन। सशस्त्र प्रहरीले उनीमाथि छानवीन गर्न खोजेपछि शक्ति केन्द्रको दबाबमा रोकिएको थियो।
‘एसपी विष्टले गणमा आर्थिक अनियमितता गरेको सूचना चुहिएको र हवल्दार साहुलाई जेल पठाएको बारेमा सशस्त्र प्रहरीभित्रै आलोचना भएपछि उनले शक्तिकेन्द्रबाट दबाब दिएका थिए,’ स्रोतले भन्यो। स्रोतका अनुसार आफूमाथि छानबिन हुने भएपछि उनले प्रधानमन्त्री कार्यालयबाटै दबाब दिन लगाएका थिए।
हवल्दार साहुले ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासन भत्तामा गणका हाकिमले अनियमितता गरेको सूचना बाहिर ल्याइदिएका थिए। गणभित्रको हाजिरी विवरण मात्र उपलब्ध गराएका उनलाई हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराएको अपराध र ‘कपट’पूर्ण अभियोग कानुन शाखाका एसएसपी अर्यालले लगाएका हुन्।
उक्त गणमा कार्यरत २ सय ५८ मध्ये १ सय २२ जना सुरक्षाकर्मी एकै दिन अनुपस्थित भएको विवरणसहित गत २८ जेठमा धनगढीबाट सञ्चालित एक सञ्चार माध्यम मार्फत समाचार सार्वजनिक भएको थियो। केही दिन उपस्थित र अनुपस्थित प्रहरी कर्मचारीको संख्यात्मक विवरणसहित समाचार सम्प्रेषण भएको थियो।
एसपी बिष्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका प्रमुख हुन। एसपी बिष्टले गणमा आर्थिक अनियमितता गरेको सूचना साहुले पत्रकार भनिएका सन्तोष सिंह ठगुन्नालाई दिएका थिए। त्यसपछि पत्रकारले समाचार प्रकाशन गरे। सो समाचार प्रकाशन भएपछि स्रोतको संरक्षण गनुपर्नेमा उल्टै ती पत्रकारले स्रोतको पोल खोलेपछि हवल्दार साहु विवादमा तानिएका थिए।
उनले गणमै गएर हवल्दार साहुले नै आफूलाई सूचना दिएको भनी बयान दिएका थिए। सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आसमा रहेका साहु अहिले सशस्त्र मुख्यालयको कानुन शाखाका एसएसपी अर्यालको अपराधिक फन्दामा परेपछि उनलाई बखास्त भएको हुन्।