प्राधिकरणको नाफामा छलाङ, १६४ प्रतिशतले बढ्यो ! कति ?

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

ठूला उद्योगमा चाहिएजति बिजुली पुर्याउने अभियानलगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो । गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पु-याउने लक्ष्य राखिएकामा ३५१ युनिट पुगेको प्राधिकरणले जनाएको छ । यसबाहेक प्राधिकरण स्वामित्वका आयोजनाबाट १६ प्रतिशत बिजुली थप प्राप्त भएकाले पनि नाफा बढेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट प्राप्त भएको परीक्षणकालीन निःशुल्क बिजुलीले पनि प्राधिकरणको नाफा बढाउन थप योगदान गरेको देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुल आम्दानी नै एक खर्ब नाघेको छ । “आफ्नै आयोजनाको बिजुली, विद्युत् चुहावट नियन्त्रण, आन्तरिक खर्च नियन्त्रण, अन्य आम्दानी वृद्धिजस्ता कारण खुद नाफा बढेको हो,” उहाँले भन्नुभयो । यससँगै सार्वजनिक संस्थामध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा रहँदै आएको छ । गत आवको नाफा हालसम्मकै उच्च हो । आव २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ नाफा आर्जन गरेको प्राधिकरणले आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपियाँ नाफा पु-याएको थियो तर आव २०७७/७८ मा घटेर छ अर्ब १० करोड रुपियाँमा झरेको थियो । वार्षिक आम्दानी एक खर्ब रुपियाँभन्दा माथि पु-याएको प्राधिकरणले विद्युत् बिक्रीबाट मात्रै ८७ अर्ब रुपियाँ खुद आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

विद्युत् चुहावटलाई १७.१८ बाट १५.३८ प्रतिशतमा झरेकाले पनि प्राधिकरणको नाफा बढेको देखिएको छ । यो नियन्त्रणले मात्रै मात्र प्राधिकरणलाई अघिल्लो वर्षको तुलनामा करिब दुई अर्ब रुपियाँ थप आम्दानी मिलेको छ । “चुहावट अझै घटाउन सकिन्छ,” घिसिङले भन्नुभयो, “चोरी नियन्त्रण गर्ने, बक्यौता असुलीमा कडाइ गर्ने, ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणलगायतका काम अभियानकै रूपमा अझै थप प्रभावकारी र व्यवस्थित रूपमा चलाउँछौँ ।”

प्रकाशित : बिहिबार, साउन २६, २०७९०७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक्सनमा अख्तियार, सरकारका सचिव र विभागीय प्रमुखलाई ‘वार्निङ’ !