काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ ।
स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनबाहिरका दलसमेत गठबन्धनमा जोडिने कसरतमा छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
पछिल्लो समय गठबन्धनको एक घटक जसपाबाट अलग भएको डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सम्म सत्तारूढ गठबन्धनसँग जोडिने पक्षमा छन् ।
भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै ‘गठबन्धनमै रहने’ चाहना व्यक्त गरेका थिए भने लोसपा नेतासँग पनि देउवाको बाक्लो भेटघाट भइरहेको छ ।
यसैगरी, नेकपा एमालेबाट अलग भएर बामदेव गौतमले नेतृत्व गरेको दल पनि सत्तारूढ गठबन्धनसँगै मिलेर आगामी निर्वाचनमा होमिने पक्षमा छ भने गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आप्mनो समूहलाई ‘पाँच दलीय गठबन्धनमा समेट्न’ भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवासँग आग्रह गर्दै निवेदन नै दिएका छन् ।
सफलले मंगलबार विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी निर्वाचनमा जोडिने’ विषयमा छलफल भएको बताएका थिए ।
केही दलको चाहना : पौडेल
कांग्रेस नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनमा भित्रिन केही दलबाट चाहना व्यक्त भएको जानकारी दिएका छन् ।
‘केही दलबाट गठबन्धनमा भित्रिन चाहना व्यक्त भएका छन्, कतिसम्म काँध थाप्न सकिन्छ, थाप्ने हो, प्रधानमन्त्रीले सो विषयमा गठबन्धनभित्र र पार्टीभित्र पनि छलफल गर्नुहोला,’ पौडेलले राजधानीसँग भने ।
यसैगरी, झापालगायत केही जिल्लामा गठबन्धनको जितलाई सहज बनाउनेगरी कमल थापा नेतृत्वको दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई पनि गठबन्धनमा समेट्ने प्रयास भइरहेको बताइन्छ ।