अबको सात दिन भित्र चुनावको घोषणा !

काठमाडौँ — सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति एक साताभित्रै तोक्ने तयारी गरेको छ । चुनावको तयारी र मिति घोषणाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले सत्ता साझेदार दलसँग परामर्श गरिरहेका छन् । सरकारले मितिका विषयमा निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

आयोगका पदाधिकारीले गत असार २२ मै प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न सुझाव दिएका थिए । तर प्रधानमन्त्री देउवाले केही दिन तलमाथि हुन सक्ने भन्दै मंसिर ४ को प्रस्ताव गरेकामा आयोगले सहमति दिइसकेको छ ।

मंसिर ४ आउन अब १ सय १२ मात्रै बाँकी छ । आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिन समय चाहिने भन्दै आएको छ । सरकारले मिति तोक्न ढिलाइ गरेपछि आयोगले व्यवस्थापनमा समस्या पर्ने भन्दै कुन काम सक्न कति समय लाग्ने योजनासहितको विवरण पठाएर दबाब दिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति तोक्नेबारे छलफल भइरहेको तर टुंगो नलागेको बताए । ‘चुनाव मंसिरमै हुन्छ, सरकारले मिति तोक्ने तयारी गरिरहेको छ तर मिति निश्चित भइसकेको छैन,’ मन्त्री कार्कीले भने । चुनावको मिति घोषणा र तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले सत्ता घटक दलका नेताहरूसँग अलग–अलग भेटेर परामर्श गरिरहेका छन् । चुनावको मिति तोक्नुअघि कर्मचारीको सरुवाबढुवा र पदस्थापनका काममा नेताहरूले चासो बढाएका छन् ।

सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत बिहीबार प्रधानमन्त्री देउवाले चुनावको मिति घोषणाबारे छलफल गरिरहेको बताएका थिए । ‘शेरबहादुर देउवाले हिजो नै मलाई फोन गरेर मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गर्ने भन्नुभएको थियो । मैले केही दिन पख्नुस् भनेको छु,’ दाहालले भनेका थिए, ‘सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्छ ।’ बालुवाटार स्रोतका अनुसार सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भए पनि त्यही दिन मिति नतोकिने भएको छ ।

प्रकाशित : सोमबार, साउन १६, २०७९०७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने