एकल पुरुषलाई पनि भत्ता दिन थालियो !

काठमाडौँ,  सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् । ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल पुरुषलाई मासिक रूपमा भत्ता प्रदान गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो र दोस्रो वर्ष मासिक एक हजार रुपियाँ एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएकोमा गत वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पु-याइएको छ ।” उमेर ६० देखि ७० वर्ष भई विवाह नगरी बसेका र श्रीमतीको मृत्यु भई घर परिवारमा आम्दानीको स्रोत नभएका एकल पुरुषलाई भत्ता प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।

बझाङको थलहरा गाउँपालिकाले गतवर्षदेखि नै एकल पुरुषलाई मासिक पाँच सय रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको छ । श्रीमतीको मृत्यु भएका ५५ वर्ष उमेरसम्म विवाह नगरी बसेका एकल पुरुषलाई भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकायले बताउनुभयो । यस वर्ष ५५ जना एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउने तथ्याङ्क सङ्कलन भएको छ ।

पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एकल पुरुषलाई मासिक एक हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सङ्घीय सरकारले एकल महिलालाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको कार्यविधिका आधारमा गाउँपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गर्ने नीति बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा एकल पुरुषको जीवन दयनीय बनेको देखेर ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ भत्ता दिने नीति बनाएका हौँ । अब गाउँपालिकाले कार्यविधि बनाएर भत्ता प्रदान गर्नेछ ।” पालिकाबाट एकल पुरुष भत्ता लिइरहेकाले ७० वर्ष उमेर पुगेपछि सङ्घीय सरकारबाट प्रदान गरिने ज्येष्ठ नागरिक भत्ता लिन सुरु गरेपछि भने दोहोरो सुविधा नपाउने गरी स्वतः भत्ता कटौति हुने गरी कार्यविधि बनाइएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले एकल पुरुषलाई भत्ता प्रदान गरिएको बारे यकिन तथ्याङ्क उपलब्ध नभए पनि यो क्रम बढेको जनाएको छ । सङ्घीय सरकारले अहिले ७० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपियाँ, ६० वर्ष पूरा भएका एकल महिलालाई दुई हजार ६६० रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षदेखि सङ्घीय सरकारले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रकाशित : शनिबार, साउन ०७, २०७९०९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पैतृक सम्पत्तिमा छोरीको हक कतिले पाए ?