फेरि बढ्यो बस भाडा !

काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बाग्मती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकामा बस चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्ने यसअघिको प्रावधान यथावत् राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको हो । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुयाइएको छ ।

त्यस्तै, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ ।

उपत्यकाबाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ । नयाँ दरअनुसार अब काठमाडौंबाट कुरिनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्ने भएको छ । यसअघि, २ सय ८३ थियो ।

त्यस्तै, काठमाडौं गल्छी ४७ किमीका लागि यसअघि १ सय ३४ रहेकोमा अब १ सय ४५ पुगेको छ । काठमाडौं जिरी ८२ किमीका लागि यसअघि २ सय ६४ रहेकोमा अब २ सय ८६ पु-याइएको छ ।

काठमाडौं नारायणगढ हेटौंडासम्मको २ सय २० किमीको यसअघि भाडादर ६ सय १३ रहेकामा अब ६ सय ६४ कायम गरिएको छ । बाग्मती प्रदेश सरकारले विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र ट्याक्सीको हकमा भने गत १ वैशाखदेखि लागू गरिएको भाडादर यथावत् राखिएको जनाएको छ ।

मालवाहक पनि बढ्यो

बाग्मती प्रदेश सरकारले मालवाहक सवारीसाधनको पनि भाडादर वृद्धि गरेको छ । प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ को दफा ४ अनुसार झन्डै १२ प्रतिशत भाडा वृद्धि गरेको छ ।

गत १ वैशाखदेखि लागू मालवाहक सवारीसाधनको १३ रुपैयाँ ४५ पैसा प्रतिकिमी प्रतिटनबाट वृद्धि गरी १५ रुपैयाँ ५ पैसा प्रतिकिमी प्रतिटनका दरले भाडा समयोजन गरिएको जनाइएको छ ।

प्रकाशित : शनिबार, साउन ०७, २०७९०८:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’, फोन ट्यापिङ गर्न थालियो !