मुख्यन्त्रीको भड्काउ अभिव्यक्ति, प्रदेशको नाम किरात नराखे देश टुक्रिने धम्कि !

विराटनगर : प्रदेशको नाम किरात राख्नुपर्ने अडानमा रहँदै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सोमबार भड्किलो र विवादास्पद अभिव्यक्ति दिएका छन्। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

प्रदेशको नाम किरात राख्न सडक आन्दोलनमा जानुपर्ने सुझावसहितको भड्किलो अभिव्यक्ति दिएपछि राई विवादमा तानिएका छन्। उनले किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्ने क्रममा भड्काउपूर्ण अभिव्यक्ति दिँदै आन्दोलनका लागि उक्साएका हुन्। प्रदेश १ को नाम किरात राख्न माग गर्दै यायोख्खाको टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पुनः स्मरण गराउन गएको थियो।

टोलीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले भड्किलो अभिव्यक्ति दिँदै सडक आन्दोलनमा जान उकासेका हुन्। प्रदेशको नाम किरात नहुने हो भने लडाइँ, झगडा तथा तत्काल विद्रोह सुरु हुनसक्ने भनेर भड्काउपूर्ण अभिव्यक्ति दिएपछि राईको आलोचना भएको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेका राई आफ्नै अभिव्यक्तिका कारण विवादमा मुछिएका छन्।

नामकरणको विषयमा राईले आफ्नो भने बचाउ गरे। उनले एमाले, कांग्रेस, माओवादीका कारण प्रदेशको नाम राख्न गाह्रो भइरहेको दाबीसमेत गरेका छन्। ‘नामकरणलाई लिएर अहिले मूलधारका नेताले जति सजिलो सोचेका छन्। त्यति सजिलो छैन,’ राईले भनेका छन्, ‘म किरात नै नाम हुनुपर्छ भन्ने पक्षमा छु। अरुले मानिरहेका छैनन्।’

प्रदेशको नामकरणको विषयलाई लिएर भोलि देश नै विखण्डको बाटोमा जानसक्नेसम्मको चेतावनी उनले दिएका छन्। ‘अहिले तत्कालै कत्रो अन्दोलन उठ्छ। समय पनि लाग्ला। तर यो तुष भुसको आगो सल्किएजस्तो एउटा विद्रोहको भावना यहाँका मानिसहरुमा रहिरहने छ,’ राईले भनेका छन्, ‘त्यसो हुँदा भोलि कुनै बेला फेरी ठुल्ठूला लडाइँ झगडाको अवस्था आउने मात्रै हैन, देश नै विखण्डनको अवस्था आउन सक्छ। किरात नाम दिँदा शान्ति हुन्छ भने किन नदिने त?’

पुरानो इतिहास, पुराना कागज, तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले प्रदेशको नाम किरात न्यायोचित हुने राईको तर्क छ। ‘उहिले वल्लो किरात, पल्लो किरात र माझ किरात भन्ने थियो। मिल्ने भए तीनवटै राज्य बाउन,’ मुख्यमन्त्री राईले भने, ‘हैन भने सबैलाई मिलाएर किरात बनाउँदा के हुन्छ? किरात प्रदेश दिँदा के बिग्रिन्छ?’

प्रकाशित : मङ्गलबार, साउन ०३, २०७९०७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्थको सीसीटीभी फुटेज मेटिएको निष्कर्ष, रिकभरको प्रक्रिया सुरु !