काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका राजनीतिक दलहरुले पार्टी चलाउन विदेशीसँग पैसा लिने गरेको आरोप लगाएका छन् । श्रेष्ठले काठमाडौंमा शनिबार आयोजित एक बिचार गोष्ठीलाई सम्वोधन गर्दै दलहरुले पार्टी चलाउन र चुनाव जित्न विदेशीसँग पैसा लिने कार्य बन्द गर्नुपर्ने बताए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
उपाध्यक्ष श्रेष्ठले सत्ता चलाउन र सत्ता ढलाउनका लागि बिदेशी शक्ति आमन्त्रण गर्ने कार्य बन्द गर्नुपर्ने धारणा पनि ब्यक्त गरे । ‘चुुनाव लडन वा पार्टी चलाउन कुनै बिदेशी शक्तिसँग नेताले वा राजनीतिक दलले पैसा लिन बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘आफनो निर्वाचन क्षेत्रमा बजेटको परिधीभन्दा बाहिर गएर बिदेशी शक्तीसँग सहयोग माग्ने कार्य बन्द पनि गर्नुपर्छ ।’
श्रेष्ठले भु–राजनीतिक अवस्था सही ठाउँमा राख्नका लागि चारवटा बिषयमा जोड गर्दै सन्तान र नातागोतालाई छात्राबृतीका लागि सहयोग माग्ने काम पनि बन्द गर्नुपर्ने बताए । ‘आफनो छोराछोरी र अन्य नातेदारका सन्तानलाई छात्रावृती दिलाई देऊ भनेर बिदेशी दुतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘यसैगरी सत्ता ढलाउन वा आफु सत्तामा जानका लागि बिदेशी शक्तिको हस्तक्षेप स्विकार गर्ने वा आमन्त्रण गर्ने कार्य बन्द गर्नुपर्छ ।’
उनले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव पनि गरेका छन् । ‘बामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन् । तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन । बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’