काठमाडौँ – अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन्।’
काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरू यस्तो निष्कर्षमा पुगेको उनले बताए। ‘केन्द्रीय सदस्यहरूसँगको गम्भीर छलफलपछि आफूहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने। नयाँ पार्टीको नाम, चुनाव चिह्न, झन्डा, घोषणापत्रबारे शुक्रबारदेखि गम्भीर छलफल सुरु हुने उनको भनाइ छ।
जसपाको ३४ सदस्यीय कार्याकारिणी समितिमा भट्टराईको पक्षमा हिसिला यमी, महेन्द्र यादव, रमेश यादव, डम्मर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा स्वाब, भक्तबहादुर शाह उभिएका छन्। भट्टराई पक्षले बोलाएको विस्तारित बैठकमा यी नेताहरूको उपस्थिति थियो। नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेकाले आफूहरूसँग कतिजना केन्द्रीय सदस्य छन् भन्ने विषय महत्वपूर्ण विषय नभएको सिंहले भने।
‘पार्टी नै नयाँ खोल्ने भएपछि हामीसँग जसपाका कति केन्द्रीय सदस्यहरू छन् भन्ने विषय ठूलो होइन,’ उनले भने। जसपाको दुवै पक्षले एउटै मितिमा छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रूपमै फुटको अवस्थामा पुगेको हो। दुवै पक्षले आफूले बोलाएको बैठक पार्टीको आधिकारिक भएको र अर्को पक्षले बोलाएको बैठक गुटको बैठक भएको दाबी गर्दै आएका छन्।
कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको कारण जसपामा फुट आएको भट्टराई पक्षधर नेताहरूको भनाइ छ। ‘हामी जसपालाई झनै बलियो बनाउन चाहन्थ्यौं तर कार्यकारिणी अध्यक्षका कारण पार्टी फुटको अवस्थामा पुगेको हो,’ सिंहले भने, ‘कार्यकारिणी अध्यक्षज्यूको चाहना नै पार्टी फुटोस् भन्ने थियो।’
संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलगिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए। २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै समाजवादी पार्टी नेपाल गठन गरेका थिए। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भएको उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भएको थियो।
महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। लोसपा गठनपछि भट्टराई जसपाका संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा छिन्। तर अहिले यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुग्दा उनले फेरि नयाँ बाटो समाउनुपर्ने अवस्था आएको छ।