काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
‘मैले नेपाल कम्युनिस्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रूपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिविहीन मानवका रूपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रूपमा चिनिएका अध्यक्ष ओलीले भन्नुभयो– ‘असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।’
एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार राजधानीमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले नेपाल समाचारपत्रको प्रश्नको जवाफमा सम्भवतः पहिलोपटक आफ्नो भागको कमजोरी स्वीकार गर्नुभएको थियो ।
उहाँले दलहरूप्रति जनतामा वितृष्णा बढेको स्वीकार मात्र गर्नुभएन, यसको कारण चिरफार गर्ने प्रयास पनि गर्नुभयो, ‘दलहरूप्रति वितृष्णा फैलाउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरूले सर्वाधिक गरेका छन्, यत्रतत्र भ्रष्टाचार छ, महँगी बढेको छ, जनताको ढाड सेक्ने काम भएको छ, अनाडीहरूले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्को देशघाती काम गरेका कारण दलहरूप्रति वितृष्णा बढ्ने नै भयो ।’
अध्यक्ष ओलीले केही दल र नेताहरूको कमजोरीका कारण पार्टीप्रति वितृष्णा बढे पनि यसको विकल्प नरहेको, लोकतान्त्रिक शासन व्यवस्थाको ठाउँमा अर्को व्यवस्था आउन नसक्ने धारणा राख्नुभयो, ‘अपवाद जहाँ पनि हुन्छ, पाणिनीको व्याकरणमा त अपवाद छ, दलको विरोध त्यस्तै एक अपवाद हो ।’‘हामी संघीय र प्रादेशिक निर्वाचनको संघारमा छौं’ भन्ने वाक्यबाट शुरू भएको अध्यक्ष ओलीको सम्बोधन आगामी मंसिर २ गते हुने भनिएको संघीय र प्रादेशिक निर्वाचनको प्रचारको प्रारम्भ हो । उहाँले निर्वाचनको एजेन्डा ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउन शासनमा स्थिरता र स्थायित्व’ हुने जानकारी पनि गराउनुभयो ।